यस वर्ष त कस्तो संयोग पर्यो भने, झापामानै रहेका बेला वर्षगाँठ पर्यो । त्यसैले पहिलो पटक नयाँ रातो साडी लगाएर यहाँ उपस्थित भएको छु
राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ सार्वजनिक
दमक, फागुन १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ ।
लेखक तथा साहित्यकारसमेत रहनु भएकी शाक्यले लेख्नु भएका जीवनका अनुभवहरू समेटिएको सङ्ग्रहको नवसंस्करण एक कार्यक्रमका बिच लोकार्पण गरिएको हो । एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओली सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मधेस प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारीलगायतले संयुक्त रूपमा कृति विमोचन गर्नुभयो । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो ।
त्यस अवसरमा आइतबार नै एमाले अध्यक्ष ओली र शाक्य बिचको वैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उहाँहरूलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरू समेत सुनाउनु भएको थियो ।
पहिलो पटक रातो साडीमा
१४ वर्ष जेल जीवन बिताएर कमजोर शरीर लिएर आएको व्यक्तिसँग आफूले कुनै अपेक्षा समेत नराखी विवाह गरेको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘केपी ओली सांसद हुनुहोला, मन्त्री हुनुहोला वा प्रधानमन्त्री नै बन्नुहोला भन्ने केही सोचेको थिइनँ, केवल उहाँसँग भावनात्मक रूपमा एक भएकाले विवाह गरेको हुँ ।’
त्यस क्रममा उहाँले २०४४ साल फागुन १० गते विवाहपछि सयौँ पटक झापा र दमक आए पनि यस वर्षको क्षण विशेष लागेको उल्लेख गर्नुभयो ।
‘आजको दिनलाई खास उत्सवको रूपमा मनाउने हाम्रो चलन पनि थिएन, गत वर्षदेखि मात्र साथीहरूले सुरु गरी दिनुभएको हो’ उहाँले भन्नुभयो, ‘यस वर्ष त कस्तो संयोग पर्यो भने, झापामा नै रहेका बेला वर्षगाँठ पर्यो । त्यसैले पहिलो पटक नयाँ रातो साडी लगाएर यहाँ उपस्थित भएको छु ।’
केपी ओलीले मन्त्री वा प्रधानमन्त्री बनेर अकुत सम्पत्ति कमायो भन्नेहरूले आरोप लगाएपछि आफूहरूसँग कुनै निजी सम्पत्ति नरहेको भन्दै उहाँले आफूहरूको वास्तविकता कस्तो छ नजिक हुनेहरूलाई मात्र थाह भएको समेत प्रष्ट पार्नु भयो ।























प्रतिक्रिया दिनुहोस्