काठमाडौं, फागुन ११ । पश्चिम नवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम बढ्दै गएको छ । पछिल्ला केही दिनयता स्थानीय तहका जिम्मेवार पदाधिकारीहरू नै पार्टी परित्याग गर्दै सार्वजनिक अभिव्यक्ति दिन थालेपछि जिल्ला तहमा रास्वपाको आन्तरिक अवस्था कमजोर बन्दै गएको संकेत देखिएको छ ।
सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले रास्वपाको ‘भनाइ र गराइमा एकरूपता नदेखिएको’ भन्दै आफूले पार्टी छाड्न बाध्य भएको उल्लेख गर्नुभएको छ । ‘जुन आशा र भरोसा लिएर हामी रास्वपामा आबद्ध भयौँ, त्यो क्रमशः क्षीण हुँदै गयो,’ उहाँले लेख्नुभएको छ, ‘पार्टी अवसरवादीहरूको चङ्गुलमा पर्दै गएको अनुभूति भएपछि बसिरहन उचित ठानिनँ ।’
पन्थका अनुसार इमान्दार र निष्ठावान् कार्यकर्तालाई पाखा लगाउने र बाहिरबाट अवसरवादी व्यक्तिहरूलाई भित्र्याएर प्राथमिकता दिने प्रवृत्ति बढेको छ । ‘संघर्षका बेलामा साथ दिने कार्यकर्तालाई बेवास्ता गर्ने र चुनाव नजिकिँदै जाँदा अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिने प्रवृत्ति संस्थागत हुँदै गएको छ,’ उहाँको भनाइ छ ।
उहाँले अब कुनै पनि राजनीतिक दलमा प्रवेश नगरी स्वतन्त्र रूपमा रहने निर्णय गरेको जानकारी दिनुभएको छ ।
दुई दिनअघि मात्रै सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी परित्याग गर्नुभएको थियो । उहाँले पनि पार्टीको नीति र व्यवहारबीच मेल नदेखिएको तथा देशलाई अपेक्षित निकास दिन सक्ने अवस्था नदेखिएको भन्दै पार्टी छाडेको सार्वजनिक गर्नुभएको थियो ।
गत निर्वाचनमा वैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपाले नयाँ राजनीतिक संस्कार र पारदर्शिताको नारा अघि सारेको थियो । तर पछिल्लो समय देखिएको असन्तुष्टिले पार्टीभित्र नीति, संगठन र उम्मेदवार चयन प्रक्रियामाथि प्रश्न उठाएको छ ।













प्रतिक्रिया दिनुहोस्