भोजपुर, फागुन १३ । नेकपा (एमाले)का तर्फबाट भोजपुर प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पार्टीका सचिव शेरधन राईले आफ्नो निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
उहाँले पार्टीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्यसहित कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सार्वजनिक गर्नुभएको हो।
प्रतिबद्धता पत्रमा भोजपुरका अधुरा सडक र पुल निर्माण सम्पन्न गर्ने तथा नयाँ सडक र पुल निर्माणलाई तीव्रता दिने उल्लेख छ। टक्सार बजारलाई पुरानो ऐतिहासिकता झल्कने सम्पदायुक्त सुन्दर बजारका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्रहरू र पालिका केन्द्रका बजारमा ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजार विकास गर्ने, छरपष्ट र जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माणमा पहल गर्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभएको छ।
सचिव राईले सिँचाइ सुविधा, मल–बीउबिजनको उपलब्धता, प्रविधि तथा प्राविधिक सहयोग सुनिश्चित गरी कृषि उत्पादन बढाउने र घरघरमा आम्दानी तथा रोजगारी सिर्जना गर्ने लक्ष्य राख्नुभएको छ।
किसानहरूका लागि चुनौती बनेको बाँदर आतङ्क नियन्त्रणका लागि ठोस पहल गर्ने उल्लेख गरिएको छ। उच्च मूल्यका खाद्यान्न, फलफूल, जडीबुटी, चिया, कफी, अलैँची, अदुवा, रुद्राक्ष र बोधिचित्त उत्पादनमा विशेष जोड दिने प्रतिबद्धता जनाइएको छ। गाँजाको व्यावसायिक खेतीका लागि विद्यमान कानुन संशोधन गर्न पहल गर्ने विषय पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।
पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गलाई थप विस्तार गरी अन्तर्राष्ट्रियस्तरको आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना उहाँले अघि सार्नुभएको छ।
भोजपुरका कला, साहित्य, भाषा र संस्कृतिका अग्रज तथा नवस्रष्टाहरूको कदर र सम्मान गर्दै स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण गर्ने ‘भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान’ नारासहित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
युवा लक्षित सामूहिक उद्यमशीलता कार्यक्रम तथा युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने योजना पनि समेटिएको छ।
जिल्ला अस्पतालमा आधुनिक उपकरण जडान गरी गुणस्तरीय सेवा विस्तार गर्ने तथा पालिका तहका अस्पताल र स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति र उपकरणसहित सेवा प्रभावकारी बनाउने योजना प्रस्तुत गरिएको छ।
त्यसैगरी, शिक्षक तथा सरोकारवालासँग भएका पूर्व सहमतिका आधारमा नयाँ संघीय शिक्षा/विद्यालय शिक्षा ऐन जारी गरी शिक्षाको गुणस्तरमा एकरूपता ल्याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि सचिव राईले सार्वजनिक गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्