नवलपरासी, फागुन १४। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गर्नु भएकाे छ ।
बर्दघाट–१२ चौपत्तामा आज आयोजित चुनावी सभामा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टीमा स्वागत गर्नु भएकाे हाे । सभामा उहाँलाई टीका–माला लगाएर औपचारिक रूपमा कांग्रेस प्रवेश गराइएको थियो।
रास्वपाका संस्थापक जिल्ला सभापति रहेका ठकुरी पछिल्लो समय पार्टीभित्र टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट रहँदै आउनु भएकाे थियाे । आसन्न निर्वाचनको तयारीका क्रममा उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै उहाँले पार्टी गतिविधिमा दूरी बढाउनु भएकाे थियाे ।
ठकुरीको बहिर्गमनलाई नवलपरासीको स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। नयाँ शक्ति भनेर उदाएको रास्वपाबाट संस्थापक तहकै नेतृत्व बाहिरिनुले जिल्लामा पार्टी संगठनलाई असर पर्ने आकलन गरिएको छ भने कांग्रेसले भने यसलाई आफ्नो पक्षमा राजनीतिक सुदृढीकरणको रूपमा लिएको छ।
ठकुरीले कांग्रेस प्रवेशसँगै चुनावमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभएकाे थियाे । उहाँले कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्