जनता टाइम्स

१७ फाल्गुन २०८२, आईतवार ११:३७

काभ्रे–१ मा चार दल बिच प्रतिष्पर्धा, एमालेका अमित लामाकाे पक्षमा माहौल बन्दै 


काठमाडौं, फागुन १७ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा काभ्रेमा चुनावी माहौल तातेको छ । निर्वाचनको मुखमा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति गणेशमान लामा र नेकपाका जिल्ला नेता ठाकुरध्वज लामाले नेकपा (एमाले)का उम्मेदवार अमित लामालाई समर्थन गर्नु भएको छ । उक्त समर्थनले लामा पक्षको चुनावी अभियानलाई थप सहज बनाएको विश्लेषण गरिएको छ ।

काभ्रे क्षेत्र नम्बर १ मा यसपटक चार प्रमुख दलबिच प्रतिस्पर्धा देखिएको छ । १५ दल र तीन स्वतन्त्र उम्मेदवारसहित १८ जनाले उम्मेदवारी दिएको यस क्षेत्रमा एमालेका अमित लामा, नेपाली कांग्रेसका गुणराज मोक्तान, नेपाली कम्युनिष्ट पार्टीका दिनानाथ गौतम तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मधु चौलागाईंलगायत उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । मुख्य प्रतिस्पर्धा भने यी चार उम्मेदवारबीच नै हुने देखिएको छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवार बन्नु भएका तत्कालीन माओवादी केन्द्रका सूर्यमान दोङले एमालेका उम्मेदवार रेसम लामालाई ३ हजार ९ सय ६४ मतले पछि पार्दै ३४ हजार ४ सय १२ मतसहित विजयी हुनु भएको थियो ।

यसपटक भने सबै राजनीतिक दल आ–आफ्नै उम्मेदवारसहित चुनावी मैदानमा उत्रिएका छन् । गठबन्धनको समीकरण नदोहरिँदा मतको विभाजन हुने आकलन गरिएको छ । युवामाझ लोकप्रिय मानिनु भएका अमित लामाको प्रभाव बिस्तारै बढ्दै गएको समर्थकहरूको दाबी छ ।

घरदैलो अभियान, भेटघाट तथा चुनावी सभामार्फत उम्मेदवारहरूले आ–आफ्ना एजेण्डा प्रस्तुत गरिरहँदा काभ्रे–१ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।