जनता टाइम्स

१८ फाल्गुन २०८२, सोमबार २०:५२

रामेछापमा मतपत्र बोकेको गाडी दुर्घटना : दुई जनाको मृत्यु, यी हुन् ८ घाइते


रामेछाप, फागुन १८ । रामेछाप नगरपालिका–२ सिरुवारीस्थित भित्री सडकखण्डमा मतपत्र र निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्।

आज अपराह्न करिब ४:१५ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीबाट रामेछाप नगरपालिका–२ स्थित शीतलादेवी माध्यमिक विद्यालय सिरुवारी र वडा नं. ३ को वडा कार्यालय भवन साँघुटारका लागि मतपत्र तथा निर्वाचन सामग्री लिएर मतदान अधिकृतसहितको टोली जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निशान गाडी दुर्घटनामा परेको हो। गाडीमा प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) परशुराम यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीसमेत सवार रहेको थियो।

प्रहरीका अनुसार मोड नपुगी गाडी ब्याक गर्ने क्रममा सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी साँघुटारबाट प्र.स.नि. शेष ईशाको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। त्यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरीक्षक कमल राउतको कमाण्डमा १५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल प्रहरी चौकी साँघुटारबाट करिब १० किलोमिटर पश्चिम तथा जिल्ला प्रहरी कार्यालय रामेछापबाट करिब ३५ किलोमिटर पूर्वमा पर्छ।

दुई जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका मन्थली नगरपालिका–१ भैँसेश्वरका ५७ वर्षीय डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा साँझ ५:४५ बजे मृत्यु भएको चिकित्सकले घोषणा गर्नुभएको छ। उहाँ वडा कार्यालय भवन साँघुटार ‘ख’ केन्द्रका मतदान अधिकृत हुनुहुन्थ्यो। उहाँको शव सोही अस्पतालमा राखिएको छ।

यस्तै, सप्तरीको रूपनी गाउँपालिका–१ घर भई हाल जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्र.स.नि. परशुराम यादवको पनि दुर्घटनामा मृत्यु भएकाे छ ।उहाँको शव पनि सोही अस्पतालमा राखिएको छ।

गम्भीर घाइते ७ जनालाई काठमाडौं रिफर

दुर्घटनामा परी शीतलादेवी मावि सिरुवारी ‘क’ केन्द्रका मतदान अधिकृत कृष्णप्रसाद घिमिरे गम्भीर घाइते हुनुभएको छ। यस्तै, निर्वाचनमा खटिएकि करिब ३५ वर्षीया पूजा देवी सुनुवारको अवस्था गम्भीर रहेको छ।

रामेछाप नगरपालिका–२ की २७ वर्षीया सबिना खड्का ढाडमा चोट लागेर घाइते हुनुभएको छ। उहाँलाई पनि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। गाडी चालक खाँडादेवी गाउँपालिका–४ का ४७ वर्षीय सम्मरबहादुर मानन्धर गम्भीर घाइते हुनुभएकाे छ। उहाँसहित खाँडादेवी–५ की ३५ वर्षीया दुर्गा कार्की, खाँडादेवी–४ का ३९ वर्षीय भीमबहादुर मानन्धर, मन्थली नगरपालिका–३ कठजोरका ३९ वर्षीय केदारकुमार रोक्का पनि गम्भीर घाइते हुनुभएकाे छ। उहाँहरूलाई पनि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

खाँडादेवी गाउँपालिका–२ की ३०/३५ वर्षीया कमला ढुंगेल खत्री सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।