जनता टाइम्स

१९ फाल्गुन २०८२, मंगलवार ०९:३५

प्रतिनिधिसभा निर्वाचनका लागि भारतसँग जोडिएका सीमानाका ७२ घण्टा बन्द


काठमाडौं, फागुन १९ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएका अन्तरराष्ट्रिय नाका ७२ घण्टाका लागि बन्द गरिएका छन्।

निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी सीमानाका बन्द गर्ने निर्णय गरिएको हो। फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्मको अवधिमा सीमा नाका बन्द रहनेछन्।

निर्वाचनका क्रममा शान्ति–सुरक्षा कायम राख्न र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न दुवै देशबीच समन्वय गरी सीमा बन्द गर्ने अभ्यास रहँदै आएको छ। यसपटक पनि सोही परम्पराअनुसार ७२ घण्टा नाका बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ।

सीमा नाका बन्द अवधिमा अत्यावश्यक बाहेकका आवागमन पूर्णरूपमा रोक लगाइनेछ भने सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ। निर्वाचन सम्पन्न भएसँगै निर्धारित समयपछि नाका पुनः सञ्चालनमा आउने सम्बन्धित अधिकारीहरूले जानकारी दिनुभएको छ।