जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार ०७:३१

प्रतिनिधि सभा निर्वाचन : देशैभर बिहान ७ बजेदेखि मतदान सुरु


काठमाडौं, फागुन २१ । प्रतिनिधि सभा निर्वाचनका लागि आज बिहान ७ बजेदेखि देशैभर एकैसाथ मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै विभिन्न जिल्लाका मतदानस्थलमा मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ भने धेरै स्थानमा बिहानैदेखि लाइन लागेको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्धारित समयभित्र मतदानस्थल पुगेका मतदातालाई मतदानको अवसर दिइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६ सय ८९ जना मतदाता सहभागी हुँदै छन् । आयोगका अनुसार यसमध्ये एक लाख ८६ हजार १ सय ४२ जना अस्थायी मतदाता कायम भएका छन् ।

अस्थायी मतदाताले समानुपातिक तर्फ मात्र मतदान गर्ने व्यवस्था गरिएको छ । सरकारी कर्मचारीलगायतका मतदातालाई अस्थायी मतदाता सूचीमा समावेश गरिएको आयोगले स्पष्ट पारेको छ ।

निर्वाचनलाई व्यवस्थित र सहज बनाउन देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल पनि तय गरिएका छन् ।

शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा मतदान सम्पन्न गर्न सुरक्षा व्यवस्थालाई कडाइ गरिएको जनाइएको छ । निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको सम्बन्धित निकायले जनाएको छ ।

मतदान सकिएपछि मतपेटिका सङ्कलन गरी सम्बन्धित मतगणना स्थलमा पुर्‍याइनेछ । मतगणना आजैदेखि सुरु हुने तयारी रहेको बताइएको छ ।