जनता टाइम्स

२१ फाल्गुन २०८२, बिहीबार ११:०८

बालेन्द्र साहलाई लिएर झापा उडेको हेलिकोप्टर ५ मिनेटमै काठमाडौं फर्कियो


काठमाडौं, फागुन २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहलाई लिएर झापातर्फ उडेको हेलिकोप्टर उडानको करिब पाँच मिनेटमै पुनः काठमाडौं फर्काइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकोप्टर केही समयमै फर्किएर पुनः काठमाडौंमै अवतरण गरेको हो। नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकोप्टर बिहान करिब १०ः१० बजे काठमाडौंमा अवतरण गरेको थियो।

साहले आज बिहान काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इङ्ग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो। उहाँ काठमाडौं–२ का मतदाता हुनुहुन्छ। मतदानपश्चात उहाँ आफू उम्मेदवार रहेको झापा–५ निर्वाचन क्षेत्रतर्फ प्रस्थान गर्नुभएको थियो।

तर उडान गरेको केही समयमै हेलिकोप्टर बीचबाटै फर्किएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार प्राविधिक समस्या वा कुनै निर्देशनका कारण हेलिकोप्टर फर्काइएको भने होइन।  उहाँले आफैँ हेलिकप्टर फर्काउन लगाउनुभएकाे हाे ।

यसैबीच आजै नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा अध्यक्ष प्रचण्ड पनि हेलिकोप्टरमार्फत आफ्ना–आफ्ना निर्वाचन क्षेत्रमा पुग्नुभएको छ।