काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले धनुषा–१ को मतपरिणाम घोषणा नगर्न आदेश दिएको छ ।
आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल परिणाम घोषणा नगर्न भनेको हो ।न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । साथै सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न अदालतले आगामी २९ गते पेसी तोकेको छ ।
सो दिन निर्वाचन आयोगका प्रतिनिधि र निवेदकबीच छलफल भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय हुनेछ ।कालोसूचीमा परेको हुँदा योग्यता नपुग्ने भन्दै आयोगले साहको उम्मेदवारी रद्द गरेको थियो । उम्मेदवार साह सर्वोच्च अदालत गएको थाहा पाएपछि आयोगले धनुषा–१ मा मतगणना जारी राख्न तर निर्वाचनको अन्तिम नतिजा प्रकाशित नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि निर्वाचन अधिकृतको कार्यालयले मतगणना टुंग्याए पनि अन्तिम नतिजा सार्वजनिक गरेको छैन । साहले २० हजारभन्दा धेरै मत पाएका बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्