काठमाडौं, फागुन २८। नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि बढ्नु पर्ने बताउनुभएको छ ।
पाँच वर्षअघि आफूले नेकपाको ‘क्लाइमेक्स र कोल्याप्स’को समय आएको चेतावनी दिएको स्मरण गराउँदै उहाँले अहिले त्यही अवस्था आएको उल्लेख गर्नु भएको छ । उहाँले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुँदा वाम शक्तिहरू एकीकृत भएसँगै जनतामा अभूतपूर्व उत्साह देखिएको उल्लेख गर्दै विचार, संगठन र व्यवहार दुई नेताको अधीनमा सीमित भएकाले एकताको आधार कमजोर बनेको बताउनुभएको छ।
उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवबाट पनि पर्याप्त पाठ नसिकिएको टिप्पणी गर्नुभएको छ। सोभियत संघबाट आवश्यक पाठ ग्रहण नगरेको र चिनियाँ मोडेलको नक्कल गर्ने प्रयास समेत सफल हुन नसकेको उहाँको धारणा छ।
बास्कोटाले अहिलेको कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त नभएको तर समयमै सच्याउन नसके भविष्यमा पुनः गम्भीर सङ्कटमा पर्न सक्ने चेतावनी दिनुभएको छ। उहाँले विचार, संगठन र व्यवहारलाई सुदृढ बनाउँदै आन्दोलनलाई सही दिशामा अघि बढाउन आवश्यक रहेको पनि बताउनुभएको छ । ‘सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ’, उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्