काठमाडौं, फागुन २८। नेसनल भोलिन्टियर फोर्सले हालै सम्पन्न आम निर्वाचन–२०८२ को परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै विजयी दललाई बधाई दिएको छ। संगठनले बुधबार विज्ञप्ति जारी गर्दै नेपाली जनताले दिएको जनमत लोकतन्त्रको सुदृढताको प्रतीक भएको जनाएको हो।
संगठनका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भर्खरै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले आफ्नो अभिमत स्पष्ट रूपमा व्यक्त गरिसकेको उल्लेख गरिएको छ। विज्ञप्तिमा लोकतन्त्र, संविधान र विधिको शासनको रक्षार्थ आफ्नो राजनीतिक धारसँग निकट रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) निर्वाचनमा सहभागी भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा नेपाली जनताले दिएको अभूतपूर्व जनमत राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा गएको भन्दै उक्त दललाई संगठनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ। परिवर्तन, सुशासन र भ्रष्टाचारमुक्त शासन प्रणालीको नारासहित रास्वपाले प्राप्त गरेको जनमतलाई व्यवहारमा उतार्नुपर्ने संगठनको धारणा छ।
विज्ञप्तिमा जनताको अपेक्षाअनुसार परिवर्तन, प्रशासनिक सुधार र भ्रष्टाचार नियन्त्रणतर्फ ठोस काम हुन नसके जनताले आगामी निर्वाचनमा त्यसको मूल्यांकन गर्ने पनि उल्लेख गरिएको छ।
संगठनले राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको बताउँदै हालैको निर्वाचन परिणामलाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरेको छ। जनताको सन्देशलाई जिम्मेवारीपूर्वक स्वीकार गर्दै पार्टी संरचना, कार्यशैली र पद्धतिमा आवश्यक सुधार गरी नयाँ ऊर्जा र उत्साहका साथ जनतामाझ पुग्ने प्रतिबद्धता विज्ञप्तिमा व्यक्त गरिएको छ।
विज्ञप्तिमा जनताको भरोसा पुनः जित्न ‘नयाँ कार्यशैली र नयाँ उत्साह’का साथ काम गर्ने उल्लेख गर्दै विगतका अनुभवबाट पाठ सिकेर अझ परिष्कृत र ऊर्जाशील रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा आफ्नो संगठनको मूल मान्यता रहेको जनाउँदै राष्ट्रको प्रगति र जनताको हितमा सरकारले गर्ने सकारात्मक कामलाई समर्थन गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
तर यदि सरकारबाट जनभावना विपरीत, भ्रष्टाचारजन्य वा राष्ट्रिय हितमा आँच पुग्ने कदम चालिएमा सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत संगठनले दिएको छ। संगठनले देश निर्माणको यात्रामा देशभक्त नागरिक, समर्थक तथा कार्यकर्तामा नयाँ ऊर्जा, एकता र प्रतिबद्धता जगाउन आह्वानसमेत गरेको छ।













प्रतिक्रिया दिनुहोस्