जनता टाइम्स

३ चैत्र २०८२, मंगलवार २०:२२

प्रधानमन्त्री निवासमा एमाले नेताहरुसँग भेट, निर्वाचन शान्तिपूर्ण बनाउन सहयोग गरेकोमा प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद


काठमाडौं, चैत ३। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याएको भन्दै नेकपा एमालेलाई धन्यवाद दिनुभएको छ। एमाले नेतृत्वलाई बालुवाटारमा आमन्त्रण गरी उहाँले आभार व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्रीको निम्तोमा एमाले नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुग्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न एमालेले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

उहाँले कठिन परिस्थितिमा मुलुकलाई निकास दिन निर्वाचन नै उपयुक्त माध्यम भएको उल्लेख गर्दै राष्ट्रप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै एमालेले खेलेको सहयोगी भूमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै, निर्वाचनमा सक्रिय सहभागिता जनाएर लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाएकोमा उहाँले सराहना गर्नुभयो।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै एकपटकको जनादेशबाट विचलित नहुन एमाले नेतृत्वलाई सुझाव दिनुभयो। उहाँले राजनीति निरन्तर चलिरहने प्रक्रिया भएकाले देश र जनताका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गर्नुभयो।

यसैबीच एमाले नेताहरूले पनि सबै पक्षको स्वीकार्यतासहित शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की तथा उहाँ नेतृत्वको सरकारलाई धन्यवाद तथा बधाई दिनुभयो। कठिन परिस्थितिमा समेत लोकतान्त्रिक र शान्तिपूर्ण निकास दिन सफल भएको भन्दै उहाँहरूले सरकारको प्रशंसा गर्नुभयो।

उहाँहरूले यसपटकको निर्वाचनमा प्रशासनले निष्पक्ष भूमिका निर्वाह गरेको उल्लेख गर्दै विगतको तुलनामा चुनावी अभियान बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभवसमेत सुनाउनुभयाे ।