जनता टाइम्स

१० चैत्र २०८२, मंगलवार १९:५६

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसको महाधिवेशन सम्भव छैन : देउवा पक्ष


काठमाडौं,  चैत्र १० । नेपाली कांग्रेस भित्रको आन्तरिक विवादबीच निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नआएसम्म नियमित महाधिवेशन गर्न नहुने अडान लिएको छ।

मंगलबार देउवा पक्षका नेता श्यामकुमार घिमिरे ले पार्टीको आधिकारिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालत मा विचाराधीन रहेकाले फैसला नआएसम्म महाधिवेशनमा जान नहुने स्पष्ट गर्नुभएको हो।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो। घिमिरेले अदालतको निर्णयपछि जसको पक्षमा आधिकारिकता प्रमाणित हुन्छ, सोही नेतृत्वमा महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले कांग्रेसभित्रका दुवै पक्षबीच एकता अपरिहार्य रहेको उल्लेख गर्दै अदालतलाई पनि छिटो फैसला दिन आग्रह गर्नुभएको छ। “सर्वोच्च अदालतले संवैधानिक दायित्वअनुसार चाँडो निर्णय दिनुपर्छ, अन्यथा जनविश्वास गुम्ने खतरा हुन्छ,” उहाँले भन्नुभयो।

साथै, नेता घिमिरेले पार्टी नेतृत्वलाई बेवास्ता गर्दै अघि बढ्दा निर्वाचनमा कांग्रेसले लज्जास्पद हार व्यहोर्नुपरेको आरोप समेत लगाउनुभयो। कांग्रेसभित्र महाधिवेशनको मिति र वैधानिकताबारे विवाद बढ्दै जाँदा सर्वोच्च अदालतको फैसला निर्णायक बन्ने देखिएको छ।