जनता टाइम्स

१६ चैत्र २०८२, सोमबार १३:१९

एमाले सचिव महेश बस्नेतकाे अपिल : आन्दोलनको मोर्चामा भेटौँ 


काठमाडौं, चैत १६। नेकपा (एमाले)का सचिव महेश बस्नेतले आज दिउँसो १ बजे माइतीघर मण्डलामा आयोजना हुने सशक्त विरोध कार्यक्रममा सहभागी हुन सम्पूर्ण नेता–कार्यकर्ता तथा समर्थकहरूलाई आह्वान गर्नुभएको छ ।

उहाँले वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाउँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदमको संज्ञा दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक आफ्नो धारणा तथा अपिलमा सचिव बस्नेतले बालेन नेतृत्वको सरकार र कथित गृहमन्त्रीका गतिविधिविरुद्ध सशक्त प्रतिरोध आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले यस कदमलाई लोकतान्त्रिक अधिकारमाथिको आक्रमणका रूपमा चित्रण गर्दै त्यसको विरोधमा राजधानी प्रदेश कमिटीले विशेष प्रदर्शन आयोजना गरेको बताउनुभएको छ ।

माइतीघर मण्डलामा हुने प्रदर्शन नेकपा (एमाले) राजधानी प्रदेशको आयोजनामा हुन लागेको हो । उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।

सचिव बस्नेतले ‘आन्दोलनको मोर्चामा भेट हुनेछ’ भन्दै विरोध प्रदर्शनमा सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ । उहाँको अपिलपछि आजको प्रदर्शनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यसअघि माइतीघर मण्डला क्षेत्रमा विभिन्न राजनीतिक तथा नागरिक आन्दोलनहरू हुँदै आएका छन्, र सो क्षेत्र विरोध प्रदर्शनका लागि प्रतीकात्मक स्थलका रूपमा चिनिन्छ ।