काठमाडौं, चैत १९ । नेकपा (एमाले) का नेता सूर्य थापाले २०८२ भदौ २४ गते भएको आगजनी र विध्वंसको घटनाको निष्पक्ष छानबिन भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय हैसियतमा ठुलो असर पर्ने धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले उक्त घटनाको सत्य-तथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान आवश्यक रहेको उल्लेख गर्दै त्यसको राजनीतिक प्रभाव रास्वपा माथि प्रत्यक्ष पर्ने दाबी गर्नुभएको हो । भदौ २३ र २४ गते भएका घटनाबारे गठित आयोगको प्रतिवेदनलाई लिएर पछिल्लो समय राजनीतिक वृत्तमा तीव्र बहस चलिरहेको छ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले २४ गतेको आगजनी र तोडफोडका घटनालाई पर्याप्त रूपमा समेट्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
सूर्य थापाले आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, ‘२०८२ भदौ २४ को आगजनी र विध्वंसको निष्पक्ष छानबिन गर्ने भने रास्वपाका सांसद १८२ बाट १२०मा झर्नेछन्।नयाँ प्रधानमन्त्री र गृहमन्त्री दोषीका रूपमा खोरमा पुग्नेछन् ! ’
उहाँको यो अभिव्यक्तिलाई राजनीतिक रूपमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । विशेष गरी भदौ २४ मा देशका विभिन्न स्थानमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा हालसम्म सयौँ व्यक्तिमाथि मुद्दा दर्ता भइसकेको छ । केही तथ्याङ्क अनुसार यस घटनासँग सम्बन्धित ९ सयभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् । सो घटनाका मुख्य योजनाकारको आरोप लागेका बालेन्द्र साह अहिले प्रधानमन्त्री हुनुहुन्छ भने सुधन गुरुङ गृहमन्त्री हुनुहुन्छ ।
एमाले, कांग्रेस लगायत राजनीतिक दल तथा नागरिक अगुवाले घटनाको छानबिन एकपक्षीय भएको आरोप लगाउँदै आएका छन् । कार्की आयोगको प्रतिवेदनले भदौ २३ गतेका घटनालाई प्राथमिकतामा राखेर २४ गतेको आगजनीलाई पर्याप्त महत्त्व नदिएको भन्दै प्रश्न उठ्दै आएकाे छ ।













प्रतिक्रिया दिनुहोस्