जनता टाइम्स

२२ चैत्र २०८२, आईतवार ०८:२१

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै


काठमाडौं, चैत २२ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट माथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

यसअघि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेपछि विपक्षी पक्षले लिखित जवाफ पेश गरिसकेको छ। सोही आदेशअनुसार आज दुवै रिटमाथि सुनुवाइ हुन लागेको हो।

जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो। आयोगको सिफारिसका आधारमा उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राखिएको हो।

आफ्नो पक्राउ गैरकानूनी रहेको दाबी गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नु भएकाे थियाे। त्यसपछि चैत १६ गते छुट्टाछुट्टै इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि अदालतले सरकारसँग पक्राउको कानुनी आधार स्पष्ट पार्न कारण देखाऊ आदेश जारी गरेको थियो।

ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले गत आइतबार सर्वोच्चमा रिट निवेदन दायर गर्दै दुवै जनालाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्नु भएकाे थियाे। रिटमा भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा गरिएको पक्राउ र थुनालाई कानूनी मापदण्डविपरीत भएको दाबी गरिएको छ।

यसबीच काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि उहाँहरूको हिरासत अवधि थप दुई दिन बढाएको थियो।

आजको सुनुवाइलाई राजनीतिक तथा कानुनी दुवै दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । किनकि सर्वोच्च अदालतको आदेशले दुवै नेताको हिरासतको वैधता र आगामी अनुसन्धान प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्नेछ।