जनता टाइम्स

२३ चैत्र २०८२, सोमबार १४:५१

सरकारलाई एमाले सांसद ऐन मह चेतावनी : प्रतिशोधको राजनीति दोहोरियो भने भोलिका शासक पनि सुरक्षित रहँदैनन्


काठमाडौं, चैत २३ ।  प्रतिनिधि सभा सदस्य ऐन महले राजनीतिक प्रतिशोधको संस्कृतिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिँदै वर्तमान सत्तापक्षलाई भविष्यप्रति सचेत रहन आग्रह गर्नुभएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा पहिलोपटक बोल्दै एमालेका युवा नेता समेत रहनुभएका उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएको व्यवहारलाई ‘प्रतिशोधपूर्ण’ भन्दै टिप्पणी गर्नुभयो। उहाँले यस्तो अभ्यासले भोलिका सरकार प्रमुखका लागि पनि बदला लिने बाटो खोल्ने संकेत गर्नुभएको हो।

सांसद महले पूर्व गृहमन्त्री रमेश लेखकको प्रसंग उल्लेख गर्दै यदि प्रतिशोधकै राजनीति अगाडि बढाइने हो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले पनि आफ्नो भविष्य सम्झिनुपर्ने धारणा राख्नुभयो। उहाँले चेतावनीपूर्ण शैलीमा भन्नुभयो, ‘यदि प्रतिशोध नै साध्ने हो भने आज सत्तामा रहनेहरूले पनि आफ्नो लागि डोको सुरक्षित राख्नुपर्छ।’

उहाँले वर्तमान सरकार पनि कुनै दिन ‘पूर्व’ सरकार बन्ने स्मरण गराउँदै आज स्थापित हुने राजनीतिक संस्कार भविष्यमा पुनः दोहोरिन सक्ने बताउनुभयो। ‘आज तपाईंहरू सरकारमा हुनुहुन्छ, भोलि पूर्व बन्नुहुन्छ, त्यसैले प्रतिशोधको पुनरावृत्ति हुने बाटो नखोलियोस्,’ उहाँले भन्नुभयो।

सांसद महले लोकतन्त्रलाई बलियो, संस्थागत र दीगो बनाउने हो भने पूर्वाग्रह, बदला र प्रतिशोधको राजनीतिलाई कुनै स्थान दिन नहुनेमा जोड दिनुभयो। स्वस्थ लोकतान्त्रिक अभ्यासका लागि निष्पक्षता, विधि र संस्थागत मर्यादा आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँको अभिव्यक्तिलाई पछिल्लो समय बढ्दै गएको सत्ता–प्रतिपक्ष तनाव र राजनीतिक आरोप–प्रत्यारोपसँग जोडेर हेरिएको छ। विशेषगरी राजनीतिक निर्णयहरू प्रतिशोधको भावनाबाट प्रभावित हुने हो कि भन्ने बहस चलिरहेका बेला उहाँको टिप्पणीले संसदीय वृत्तमा थप चर्चा पाएको छ।