जनता टाइम्स

३ बैशाख २०८३, बिहीबार १८:३८

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा, १० करोड ५४ लाख बिगो दाबी


काठमाडौं, वैशाख ३ । काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार तिवारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गरी आफ्नो हैसियतभन्दा धेरै अस्वाभाविक सम्पत्ति आर्जन गर्नुभएको आरोप छ। आयोगले २०४४ साल भदौ १९ गते सेवा प्रवेशदेखि २०७८ साल वैशाख ९ गते अवकाशसम्मको अवधिलाई अनुसन्धानको दायरामा राखेको जनाएको छ।

उक्त अवधिमा उहाँको कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ रहेको देखिएको छ। तर सोही अवधिमा कुल खर्च तथा लगानी २५ करोड ६ लाख ४७ हजार २२७ रुपैयाँ पुगेको अख्तियारले जनाएको छ।

आय–व्ययको तुलनात्मक हिसाब गर्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको सम्पत्ति स्रोत नखुलेको देखिएको भन्दै अख्तियारले सोही रकम बराबर बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

मुद्दामा तिवारीकी श्रीमती मिनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारका अनुसार गैरकानूनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्ति परिवारका सदस्यको नाममा राखिएको, घरजग्गा खरिद गरिएको तथा बैंक खातामा रकम जम्मा गरिएको देखिएकाले जफत प्रयोजनका लागि उहाँहरूलाई समेत प्रतिवादी बनाइएको हो।

अख्तियारले तिवारीले पेश गरेको सम्पत्ति विवरणमा वास्तविकता लुकाएको अभियोगमा थप सजायको मागसमेत गरेको जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा साे कुरा उल्लेख छ ।