जनता टाइम्स

४ बैशाख २०८३, शुक्रबार ११:३१

सघन संवादमा एमाले-नेकपा, केपी ओली भेट्न अस्पताल पुगे प्रचण्ड


काठमाडौं, वैशाख ४ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटनुभएको छ ।

पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुग्नुभएको थियो । उहाँ ३० मिनेट जति बसेको बताइएको छ ।

एमाले सचिव पद्मा अर्यालले दाहाल ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताउनुभयो। एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड-ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

‘उहाँ आउनुभएको हो स्वास्थ्यलाभको कामना गर्नुभयो थप विषय त मैले पनि बुझ्नु पर्छ’, सचिव अर्यालले भन्नुभयो । नेकपा र एमालेका केही नेताको छलफलपछि ओली-प्रचण्डको संवाद भएको स्रोतको दाबी छ । त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए ।

नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा छलफल गरेको बताइन्छ । उहाँहरुबीच करिब ४ घण्टा छलफल भएको थियो । त्यसपछि ओलीलाई भेट्न प्रचण्ड पुगेको स्रोतले जानकारी दिएको छ ।

आज फेरि एमालेका एक पदाधिकारीले प्रचण्डलाई भेटेका छन् । उनीहरूबीच नेकपा र एमालेबीचको सहकार्यको विषयमा कुरा भएको स्रोतको दाबी छ ।