काठमाडौं, बैशाख ४ । काठमाडौको तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी हुनुभएको छ ।
स्वयम्भूमा शुक्रवार दाहसंस्कार कार्यक्रममा पुग्नुभएका गृहमन्त्री गुरुङले लामाको शव आफैले अग्रभागमा बोक्नुभएको छ । चैत २९ मा तार्केश्वर नगरपालिका–८ स्थित डाँडागाउँमा लामाले चलाएको बागमती प्रदेश-०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियो ।
दुर्घटनामा गम्भीर घाइते इन्स्पेक्टर लामाको उपचारको क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो । जापानमा रहनुभएकी लामाकी पत्नी र परिवारका सदस्य आउन ढिला भएपछि शुक्रबार उहाँको दाहसंस्कार गरिएको हो । इन्स्पेक्टर लामा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।
लामाको अन्तयष्टिमा गृहमन्त्री गुरुङ पुरै समयसमेत ब्यतित गर्नुभएको छ । गृहमन्त्री आफैले प्रहरीको शव बोकेर अन्त्यष्टि गरेको संभवत यो पहिलो घटना हो । यसअघि एमालेका तात्कालिन बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारको २०६६ साल माघमा गृह सहायक मन्त्री रिजवान अन्सारीले सञ्चार उद्यमी जमिम शाहको शव बोक्नुभएको थियो ।
गृहमन्त्री गुरुङले शुक्रवार इन्सपेक्टर लामाको शवलाई काँध दिनुभएको हो । उहाँको यो कार्यलाई सवैले खुलेर प्रसंशा गरेका छन ।













प्रतिक्रिया दिनुहोस्