जनता टाइम्स

४ बैशाख २०८३, शुक्रबार २१:१८

बस्तीमै स्वास्थ्य सेवा : रामेछापमा आयुर्वेद चिकित्सालयको घरदैलो अभियान प्रभावकारी


रामेछाप, वैशाख ४ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले नागरिकलाई आफ्नै बस्तीमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरेको नियमित घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

चिकित्सालयका चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली बस्ती–बस्तीमा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श र निःशुल्क औषधि वितरण गर्दै आएको छ । कार्यक्रमअन्तर्गत चिकित्सालयले टोल–टोलमै पुगेर रक्तचाप, मधुमेह लगायतका विभिन्न स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्य परीक्षणका क्रममा जटिल समस्या देखिएका बिरामीलाई थप परीक्षणका लागि चिकित्सालयमा बोलाउने गरिएको चिकित्सालयका डाक्टर उत्तम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार घरदैलोमै पुगेर जाँच गर्दा अधिकांशमा उच्च रक्तचाप र मधुमेहका बिरामी भेटिने गरेका छन् ।

यसैगरी हाडजोर्नी दुखाइ, नसासम्बन्धी समस्या तथा ग्यास्ट्रिकका बिरामीहरू पनि सदरमुकाम मन्थली आसपासका क्षेत्रमा उल्लेख्य रूपमा भेटिएको उहाँले बताउनुभयो ।

घरदैलो कार्यक्रमअन्तर्गत शुक्रबार मन्थली नगरपालिका–६ कुनौरीमा स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त कार्यक्रममा ४० जनाभन्दा बढी स्थानीयको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श तथा औषधि वितरण गरिएको चिकित्सालयका प्रयोगशाला प्राविधिक सुमन चापागाईँले जानकारी दिनुभयो ।

डाक्टर उत्तम गैरेको नेतृत्वमा गएको स्वास्थ्य टोलीले स्थानीय बासिन्दाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै समयमै उपचार र सचेतनामा जोड दिएको जनाएको छ । साप्ताहिक रुपमा सञ्चालन गर्दै आएकाे साे कार्यक्रमलाई चिकित्सालयले आगामी दिनमा पनि थप विस्तार गर्ने तयारी गरेको छ ।