रामेछाप, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी काे ७७ औँ स्थापना दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थल रामेछापमा ‘तीनलाल’का सालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ।
नेकपा एमाले रामेछापको आयोजनामा मन्थलीस्थित तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गंगालाल श्रेष्ठ तथा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो। तीनैजनाको जन्म रामेछाप जिल्लामै भएको हाे।
कार्यक्रममा सहभागिले राणा शासनको कठोर समयमा वि.सं. २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र मोतिदेवीसहितको टोलीले पहिलोपटक नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको स्मरण गर्नुभयाे ।
साे अवसरमा पुष्पलाल श्रेष्ठको जीवन र योगदानबारे पनि चर्चा गरिएको थियो। उहाँको जन्म वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा पिता भक्तलाल र माता तुलसीकुमारीका जेठा सन्तानका रूपमा भएको थियो। उहाँका पिता भक्तलाल वि.सं. २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालका क्रममा एक्सन कमिटीका अध्यक्षसमेत बन्नुभएको थियो।
वि.सं. १९९७ सालमा दाजु सहिद गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिनु अघि भद्रगोल जेलमा भएको भेटमा ‘माइला, मैले प्रजातन्त्रका निम्ति बालेको दियो तैंले प्रज्वलित पार्नेछस्’ भन्ने प्रेरणादायी शब्दले पुष्पलाल श्रेष्ठलाई राजनीतिमा प्रवेश गर्न उत्प्रेरित गरेको प्रसंग पनि सहभागिले स्मरण गर्नुभएको थियो।
कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ लगायत जनप्रतिनिधि, पार्टी तथा जनसंगठनका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।













प्रतिक्रिया दिनुहोस्