जनता टाइम्स

१२ बैशाख २०८३, शनिबार ०९:४८

प्रशासनलाई दिए ठाडो धम्की: कानूनले काम गरेर भने यो एसपीलाई यहाँबाट घिसारेर लैजान्छु– रास्वपाका सांसद खगेन्द्र सुनार


काठमाडौं,  वैशाख  १२। हिरासतभित्र दलित युवक मृत अवस्थामा फेला परेको घटनालाई लिएर विवाद चर्किएको छ। यसै सन्दर्भमा सत्तारुढ दल रास्वपाका  सांसद खगेन्द्र सुनारले प्रहरी–प्रशासनप्रति आक्रोश व्यक्त गर्दै कडा चेतावनी दिनुभएको छ, जसले राजनीतिक तथा सामाजिक वृत्तमा थप बहस सिर्जना गरेको छ।

सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहनुभएका २२ वर्षीय श्रीकृष्ण बिक वैशाख ७ गते झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो। प्रहरीको प्रारम्भिक भनाइअनुसार उहाँले आत्महत्या गर्नुभएको हो र घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ। तर मृतकका परिवारजन, अधिकारकर्मी तथा केही जनप्रतिनिधिहरूले भने प्रहरी हिरासतभित्र कुटपिट गरी हत्या गरिएको आरोप लगाउनुभएको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पुग्नुभएका माननीय सांसद सुनारले उक्त घटनालाई ‘दलितमाथिको हत्या’ भएको ठोकुवा गर्नुभयो। उहाँले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि तत्काल कारबाही नगरिए कडा कदम चाल्ने चेतावनी दिनुभएको छ। पत्रकारहरूसँगको कुराकानीका क्रममा व्यक्त गरिएका उहाँका अभिव्यक्तिलाई कतिपयले उत्तेजक र असंयमित भन्दै आलोचना समेत गरेका छन्।

मृतक बिकमाथि नाबालिगसँग सम्बन्धित बलात्कारको आरोपमा मुद्दा दर्ता भएको थियो। सोही आधारमा उहाँलाई ललितपुरबाट पक्राउ गरी अनुसन्धानका लागि सिन्धुली लगिएको थियो। तर अन्तरजातीय प्रेम विवाहकै कारण झुटो आरोप लगाइएको दाबी परिवारजन तथा आन्दोलनकारीहरूले गर्नुभएको छ।

घटनापछि परिवारजनले निष्पक्ष छानबिनको माग गर्दै शव बुझ्न अस्वीकार गर्नुभएको छ। यता, राष्ट्रिय दलित आयोगले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ। पोस्टमार्टम प्रतिवेदन आउन बाँकी रहेकाले घटनाको यथार्थ अझै खुल्न सकेको छैन।

यस घटनाले प्रहरी हिरासतको सुरक्षामाथि प्रश्न उठाएको छ भने राजनीतिक तहबाट आएका कडा अभिव्यक्तिले अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने चिन्ता समेत व्यक्त हुन थालेको छ। सत्यतथ्य छानबिनमार्फत सार्वजनिक गरी दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउनुपर्ने माग व्यापक बन्दै गएको छ।

भनाइ जस्ताको तस्तै

प्रहरीले एउटा दलितलाई अन्तरजातीय विवाह गरेको निहुमा पक्राउ गरेर हत्या गरेको छ । प्रहरीको हिरासतभित्र, अहिले लाश पनि हेर्यौं, शरीरभरि चोटैचोट छ, आत्महत्या गर्दा त्यति धेरै चोट लाग्दैन । हामीले घटनाको कारण सोध्दा उहाँहरुले स्पष्ट बताउन सक्नुभएन । एसपीको जिभ्रो काँपेको छ । हात काँपेको छ । जिल्ला प्रशासनको गेटमा गेटमा उभिएर भनेको छु कानूनले काम गरेर भने यो एसपीलाई यहाँबाट घिसारेर लैजान्छु ।

यहाँबाट भएन भने मैले भन्देको छु, खुल्ला पत्रकार सम्मेलन गरेर भनेको छु, सामान्य जंगलमा घाँस काट्ने मान्छेलाई कारवाही हुन्छ भने कस्टडीभित्र मान्छे काट्ने पुलिसलाई कारवाही हुनु पर्छ कि पर्दैन ? एउटा दलितलाई अन्तरजातीय विहे गरेको निहुँमा पक्राउ गरेर, कस्टडीभित्र लगेर, कुटेर–पिटेर, मारेर, ल्याएर, दम्पच गराएर… हामी सांसदहरु पुग्दै गर्दा अघिसम्म भिडिओ देखाउँछु भन्ने, अहिले मिल्दैन भन्ने ।

मैले इमान्दारितापूर्वक भनेको छु, चुपचाप कानूनलाई समात्ने हो कि होइन ? पुलिसले अपराध गरेको छ । यही सार्वजनिक ठाउँमा उभिएर… जिल्ला प्रशासनको गेटमा उभिएर भन्छु, प्रमुख जिल्ला अधिकारीलाई तत्काल निलम्बन गरिँदैन, एसपीलाई तत्काल निलम्बन गरिँदैन, खुर्कोटको इन्स्पेक्टलाई तत्काल निलम्बन गरिँदैन र ड्यूटीमा रहेको कमाण्डरलाई तत्काल निलम्बन गरिदैन भने, यिनीहरुमाथि छानविन हुँदैन भने, यिनले गरेको बदमासीमाथि, सीडीओ र एसपीले गरेको अपराधमाथि, प्रहरी प्रशासनले गरेको अपराधमाथि छानविन हुँदैन भने जनताको कारबाही हुन्छ ।

हामीले स्पष्टरुपमा भनेका छौं । दलितको हत्या भएको छ । अहिल्यैको मितिबाट एसपी र सीडीओलाई निलम्बन गरियोस । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा मलगायत सांसद, दलित अधिकारकर्मी, मानवअधिकारकर्मी अगूवहरुलाई अपिल गर्न चाहन्छु, सिडिओ र प्रहरी प्रमुखमाथि कारवाही हुँदैन भने, दलितलाई मार्ने हत्यारालाई कारवाही हुँदैन भने, कस्टडीमा अनुसन्धानका लागि ल्याइएको आरोपिको हत्या गर्दै गर्दा अपराधिलाई कारवाही हुँदैन भने त्यो मलाई मान्य छैन । आजको मितिले भोलि बिहान उज्यालो हुँदै गर्दा…म अहिले पार्टीको सांसद छु, मेरो मान्छे मरिरहन्छ भने मलाई मान्य छैन ।

हामी आज, अहिल्यैबाट जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा छौं । यो भाइको हत्या किन गरिएको हो ? पक्राउ किन गरिएको हो ? मुद्दा कसले हालेको हो ? मारेको कसले हो ? भित्र कि बाहिर मारेको हो ? सत्यतथ्य बाहिर नआउँदासम्म, प्रहरीलाई कारवाही नहुँदासम्म अहिल्यैको मितिबाट हामी धेरै सांसद साथीहरुले जिप्रकाको गेटमा धर्ना सुरु गरेका छौं ।