काठमाडौं, वैशाख १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका विवादमा परेका दुई सांसदको बचाउ गर्नुभएको छ। विवादित अभिव्यक्ति र व्यवहारबारे प्रतिक्रिया दिँदै उहाँले ती घटनालाई ‘सामान्य रूपमा बुझ्नुपर्ने’ धारणा सार्वजनिक गर्नुभएको हो।
सभापति लामिछानेले सांसद खगेन्द्र सुनारको अभिव्यक्तिलाई दलित समुदायको पीडासँग जोड्दै केही सहानुभूतिपूर्वक हेर्नुपर्ने बताउनुभएकाे छ। उहाँले भन्नुभयो, ‘दलित कैदीबन्दीको मृत्यु शंकास्पद देखियो भन्ने उहाँको भनाइ हो, वर्षौंदेखि प्रताडित समुदायको आवाज अलि चर्को हुन सक्छ, त्यसलाई झर्को मान्न पाइँदैन।’
सांसद खगेन्द्र सुनारले सिन्धुलीकाे खुर्कोट स्थित प्रहरी हिरासतभित्र एक दलित युवकको मृत्यु भएको घटनामा प्रहरी प्रमुखलाई ‘घिसार्ने’ अभिव्यक्ति दिनुभएको थियो, जसको चौतर्फी आलोचना भइरहेको छ।
त्यसैगरी, अर्का सांसद विश्वराज पोखरेलको व्यवहारबारे पनि सभापति लामिछानेले नरम धारणा व्यक्त गर्नुभएकाे छ। आफ्नो निर्वाचन क्षेत्रमा रहेको विद्यालयमा प्रधानाध्यापक स्वागत गर्न गेटमा नआएको भन्दै उहाँले दिएको अभिव्यक्तिको आलोचना भएपछि सार्वजनिक रूपमा माफी मागिसक्नुभएको छ।
यस सन्दर्भमा लामिछानेले भन्नुभएकाे छ, ‘विश्वराजजीले सार्वजनिक रूपमा माफी माग्नुभएको छ, हामी सेवक हौँ, मालिक होइनौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ, माफी मागिसकेपछि विषय सहज भएको छ।’
तर सभापति लामिछानेको यस धारणा पछि पार्टीभित्र र बाहिर प्रश्न उठ्न थालेका छन्। नेताहरूले विवादास्पद अभिव्यक्ति वा व्यवहार गरेपछि माफी मागे पुग्ने संस्कार बस्न थालेको हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ। यसले रास्वपाभित्र अनुशासन, उत्तरदायित्व र राजनीतिक नैतिकतामाथि बहस सुरु गराएको छ ।













प्रतिक्रिया दिनुहोस्