काठमाडौं, वैशाख २० । संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस जगतलाई शुभकामना व्यक्त गर्दै सरकारको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध सशक्त ‘वाचडग’ को भूमिका खेल्न आह्वान गर्नुभएको छ।
आङ्देम्बेले आइतबार शुभकामना सन्देश जारी गर्दै स्वतन्त्र प्रेस लोकतन्त्रको अभिन्न खम्बा भएको उल्लेख गर्नुभएको हो। उहाँले प्रेस स्वतन्त्रताको सुरक्षा र सम्मानका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।
उहाँले नेपालको संविधानले प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै ती अधिकारको संरक्षण र प्रभावकारी कार्यान्वयनमा कांग्रेसले निरन्तर पहरेदारी गर्ने बताउनुभएको छ। साथै, प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्ने तथा साहसपूर्ण योगदान दिने विश्वभरका पत्रकारहरूप्रति उहाँले उच्च सम्मान प्रकट गर्नुभएको छ।
वर्तमान प्रविधिको युगमा सूचना प्रदूषण गम्भीर चुनौती बनेको उल्लेख गर्दै उहाँले आम नागरिकलाई भ्रमबाट जोगाउन पत्रकारिताको जिम्मेवारी थपिएको औँल्याउनुभएको छ। सत्य र गुणस्तरीय सूचनामार्फत विवेकशील नागरिक निर्माणमा पत्रकारहरूको विशेष भूमिका रहने उहाँको धारणा छ।
उहाँले जिम्मेवार, जवाफदेही र पारदर्शी शासन सुनिश्चित गर्न प्रेसले राज्यका निकायहरूमाथि कडा निगरानी राख्नुपर्ने बताउनुभएको छ। सरकार तथा राज्यका निकायहरूमा देखिँदै गएको स्वेच्छाचारी प्रवृत्तिलाई नियन्त्रण गर्न व्यवसायिक प्रेस जगतले सचेत र सक्रिय भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
प्रेसमाथि हुने कुनै पनि प्रकारका नियन्त्रण तथा आक्रमणको कांग्रेसले कडा प्रतिकार गर्ने चेतावनी दिँदै उहाँले यस क्षेत्रको नीतिगत सुधार र पत्रकारहरूले भोग्दै आएका समस्याको समाधानमा आफ्नो दलको पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाउनुभएको छ।













प्रतिक्रिया दिनुहोस्