काठमाडौं, वैशाख २२। सरकारले समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थामा अड्किएको बचत रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको बताउँदै सम्बन्धित निकायले भुक्तानी प्रक्रिया छिट्टै सुरु हुने जनाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । सिमितका सदस्य सचिव रविन ढकालका अनुसार पहिले नै मागदाबी दर्ता गरिसकेका बचतकर्तालाई आगामी जेठको पहिलो सातादेखि रकम फिर्ता गर्न थालिनेछ। पहिले आवेदन दिइसकेका बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर भुक्तानी प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो।
यस्तै, हालसम्म विभिन्न कारणले मागदाबी गर्न नपाएका बचतकर्ताहरूका लागि पुनः अवसर दिन समय दिइने भएकाे छ । समितिले साउनको पहिलो सातादेखि पुनः आवेदन खुला गर्ने तयारी गरेको जनाएको छ।
बचत फिर्ता प्रक्रिया व्यवस्थित र निष्पक्ष बनाउन समितिले वैज्ञानिक तथा न्यायोचित कार्यविधि तयार गर्ने जनाएको छ। कोषमा पर्याप्त रकम अभाव भएमा सरकारले विनियोजन गरेको चक्रीय कोषबाट सापटी लिएर भए पनि बचतकर्ताको रकम भुक्तानी गर्ने योजना बनाइएको छ।
यससँगै समितिले ऋण नतिर्ने ऋणीहरूमाथि कडा कदम चाल्ने जनाएकाे छ। कर्जा असुलीलाई तीव्र बनाउन ऋणीहरूको तीन पुस्तेसम्मको विवरण सार्वजनिक गर्ने तयारी गरिएको समितिले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्