काठमाडौं, वैशाख २३ । सरकारले हालै ल्याएको अध्यादेशले निजामती कर्मचारीका विभिन्न ट्रेड युनियन खारेज गर्ने प्रावधान राखे पनि गैरनिजामती क्षेत्रका युनियन कार्यालयसमेत बन्द गर्न सञ्चार मन्त्रालयबाट ठाडो निर्देशन दिइएको पाइएको छ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको सचिवालयले नेपाल टेलिभिजन, रेडियो नेपाललगायत संस्थानमा रहेका ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको हो। सो आदेशपछि सम्बन्धित कार्यालयहरू बन्द गर्न थालिएको जनाइएको छ।
सरकारले जारी गरेको अध्यादेशअनुसार निजामती क्षेत्रका ट्रेड युनियन खारेज गर्ने व्यवस्था गरिएको भए पनि गैरनिजामती संस्थानअन्तर्गत रहेका युनियनहरूका विषयमा स्पष्ट व्यवस्था गरिएको छैन।
ट्रेड युनियन ऐन २०४९ (संशोधनसहित) को दफा ३ को उपदफा (३) बमोजिम दर्ता भएका प्रतिष्ठानस्तरका युनियनहरूलाई समेत खारेज गर्ने गरी मन्त्रीको सचिवालय सक्रिय भएको देखिएको छ।
२३ वैशाखमा जारी सरकारी सूचनामा खारेजीमा परेका ट्रेड युनियनहरूको सूचीमा प्रतिष्ठानतर्फका युनियनहरू समावेश नभए पनि सचिवालयको निर्देशनका आधारमा ती कार्यालयहरू हटाउन थालिएको भन्दै सम्बन्धित पक्षले आपत्ति जनाउन थालेका छन्।
यस विषयमा मन्त्रालयले औपचारिक स्पष्टिकरण भने सार्वजनिक गरिसकेको छैन।













प्रतिक्रिया दिनुहोस्