जनता टाइम्स

२४ बैशाख २०८३, बिहीबार ०७:११

दोहोरो सुविधा विवादपछि पूर्वप्रधानमन्त्री ओलीले सरकारलाई फिर्ता गर्नुभयो गाडी


काठमाडौं, वैशाख २४ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि गृह मन्त्रालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको विवरण माग गर्दै दोहोरो सुविधा लिएका गाडी फिर्ता गर्न पत्राचार गरेको थियो। त्यसपछि अध्यक्ष ओलीले बा.१३ च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी सरकारलाई फिर्ता गर्नुभएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीलाई उपलब्ध गराइएका सुविधा र सरकारी स्रोतको प्रयोगबारे पछिल्लो समय समीक्षा प्रक्रिया अघि बढाइएको छ। सोही क्रममा विभिन्न पूर्वपदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको अवस्था, कानुनी हैसियत तथा सुविधा दोहोरो परेको वा नपरेको विषयमा विवरण संकलन थालिएको बताइएको छ।

गृह मन्त्रालयले सरकारी सुविधा पारदर्शी र मापदण्डअनुसार बनाउने उद्देश्यले आवश्यक समन्वय सुरु गरिएको जनाएको छ। मन्त्रालय स्रोतका अनुसार पूर्वविशिष्ट व्यक्तिहरूले प्रयोग गरिरहेका गाडी, सुरक्षा तथा अन्य सेवा–सुविधाको समेत पुनरावलोकन गर्ने तयारी भइरहेको छ।

यस विषयलाई लिएर राजनीतिक वृत्तमा सार्वजनिक पदमा रहेका वा पूर्वपदाधिकारीहरूले राज्यको स्रोत–साधन प्रयोग गर्दा स्पष्ट मापदण्ड र पारदर्शिता आवश्यक रहेको बहस पनि सुरु भएको छ। विपक्षी दलहरूले सरकारी सुविधा वितरणलाई व्यवस्थित गर्न माग गरिरहेका बेला सरकार भने खर्च नियन्त्रण र प्रशासनिक सुधारको पक्षमा रहेको बताउँदै आएको छ।