रामेछाप, वैशाख ३० । पहाडी जिल्ला रामेछाप जिल्लाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्साहजनक सफलता हासिल गर्दै शिक्षा क्षेत्रमा नयाँ आशा जगाएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लामा कुल ८१ दशमलव ३२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । सीमित स्रोत, भौगोलिक कठिनाइ र ग्रामीण परिवेशबीच रामेछापका विद्यार्थीले हासिल गरेको यो सफलता अहिले जिल्लाभर गर्व र खुसीको विषय बनेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई रामेछाप का प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार यस वर्ष जिल्लाका ८८ विद्यालयका विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए । तीमध्ये ८५ सामुदायिक र ३ संस्थागत विद्यालय रहेका थिए ।
नियमिततर्फ साधारण धारमा २ हजार १ सय ३६ तथा प्राविधिक धारमा १ सय ४४ गरी कुल २ हजार २ सय ८० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये १ हजार ८ सय ५४ विद्यार्थी ग्रेडेड भएका छन् भने ४ सय २६ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।
विशेषतः प्राविधिक धारतर्फ जिल्लाले ऐतिहासिक सफलता हासिल गरेको छ । प्राविधिक धारमा सहभागी सबै १ सय ४४ विद्यार्थी नै ग्रेडेड हुन सफल भएका छन् । यो नतिजाले रामेछापमा प्राविधिक शिक्षाप्रतिको आकर्षण र विद्यालयहरूको मेहनतलाई स्पष्ट रूपमा देखाएको छ ।
यस वर्ष जिल्लाबाट ३६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । सबैभन्दा धेरै ६ सय २४ विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० जिपिए प्राप्त गरेका छन् । ४ सय ५७ विद्यार्थीले २ दशमलव ४१ देखि २ दशमलव ८० जिपिए ल्याएका छन् भने ४ सय ११ विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जिपिए हासिल गरेका छन् । त्यस्तै २ सय ८६ विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जिपिएसम्म प्राप्त गरेका छन् ।
डहु माविको लोभलाग्दो सफलता
जिल्लाको नमुना सामुदायिक विद्यालयका रूपमा परिचित डहु माध्यमिक विद्यालय ले यस वर्ष पनि उत्कृष्ट नतिजा निकाल्दै जिल्लाभर चर्चा बटुलेको छ ।
सुनापति गाउँपालिका–४ बेथानस्थित उक्त विद्यालयका ११ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । विद्यालयका कुल ६६ विद्यार्थीमध्ये ११ जनाले पूर्ण जिपिए ल्याउनु आफैँमा उल्लेखनीय उपलब्धि मानिएको छ ।
विद्यालयका अनुसार प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ अध्ययनरत ९ तथा साधारण धारका २ विद्यार्थीले ४ जिपिए प्राप्त गरेका हुन् । प्राविधिक धारतर्फ ३८ जनाले ३.६० देखि ३.९६ जिपिए हासिल गरेका छन् भने एक जनाले ३.५९ जिपिए ल्याएका छन् । साधारण धारतर्फ ९ जनाले ३.६० देखि ३.९६, ५ जनाले ३.२० देखि ३.६० तथा २ जनाले २.८० देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।
गत वर्ष पनि जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको डहु माविले यस वर्ष पुनः आफ्नो उत्कृष्टता कायम राख्दै सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षाको केन्द्र बन्न सक्छन् भन्ने सन्देश दिएको छ । साे विद्यालयले एक दशकदेखि शिक्षा क्षेत्रमा लाेभलाग्दाे फड्काे मारेकाे छ ।

तामाकोशी बोर्डिङ पनि अब्बल
संस्थागत विद्यालयतर्फ भने तामाकोशी इङ्लिस बोर्डिङ स्कुल मन्थलीले सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयबाट १० जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । साे विद्यालयबाट ३५ जनाले एसइई दिनुभएकाे थियाे ।
यो नतिजाले रामेछापमा सामुदायिक र संस्थागत दुवै विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढ्दै गएको देखाएको छ । शिक्षकको मेहनत, अभिभावकको विश्वास र विद्यार्थीको निरन्तर परिश्रमले जिल्लाको शिक्षा क्षेत्रलाई नयाँ उचाइतर्फ डोर्याइरहेको स्थानीय शिक्षा सरोकारवालाहरू बताउँछन् ।
ग्रामीण जिल्लाका विद्यालयले लगातार उत्कृष्ट नतिजा दिन थालेपछि अब रामेछाप केवल भौगोलिक विकटताले चिनिने जिल्ला मात्र नभई शिक्षामा पनि उदाहरणीय जिल्ला बन्ने दिशामा अघि बढिरहेको अनुभूति गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्