जनता टाइम्स

३१ बैशाख २०८३, बिहीबार ०७:२७

आज पनि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने 


काठमाडौं, वैशाख ३१ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।  सरकारकाे नीति तथा कार्यक्रम माथिकाे छलफलमा प्रधानमन्त्री अनुपस्थित भएका भन्दै प्रतिपक्षीले सदन अवरुद्ध गरेका हुन् । आजको सम्भावित कार्यसूचीअनुसार सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने तयारी गरिएको छ ।

चालु अधिवेशनमै आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटसमेत प्रस्तुत गरिने भएकाले संसद्को गतिविधि अहिले थप महत्वपूर्ण बनेको छ । सरकारको आगामी वर्षको प्राथमिकता, विकास योजना तथा आर्थिक नीतिबारे सांसदहरूले धारणा राखिरहेका छन् ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि बिहान ११ः१५ बजे बस्ने तय भएको छ । राष्ट्रियसभामा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।