जनता टाइम्स

३१ बैशाख २०८३, बिहीबार ०९:५१

हर्क साम्पाङकाे नागरिकलाई अपिल : गरिबको घरमा डोजर आतङ्क मच्चाउने दललाई बस्तीमा छिर्न नदिनू 


काठमाडौं, वैशाख ३१ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिब जनताको उठिबास लगाउने कानुन च्यातेर फाल्नुपर्ने धारणा राख्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले गरिब जनताको घर भत्काउने र डोजर आतङ्क मच्चाउने काम भइरहेको बताउनुभएको छ । यस्तो गतिविधिमा संलग्न राजनीतिक दलहरूलाई बस्तीमा प्रवेश गर्न नदिन साम्पाङले आह्वानसमेत गर्नुभएको छ । ‘जुन कानुनले गरिब जनताको उठिबास लगाउँछ, त्यो कानुन च्यातेर फाल्नुपर्छ,’ उहाँले लेख्नुभएको छ ।

उहाँले अहिले देश अभिभावकविहीन अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । ‘अभिभावकविहीन देशका नागरिक हामी ! हामीले सम्मान र गरिमा अनुभूति गर्न पाएका छैनौँ ,’ उहाँले उल्लेख गर्नुभएको छ ।

अध्यक्ष साम्पाङले अहिलेको सरकार र प्रधानमन्त्री इतिहासकै असक्षम रहेको टिप्पणी गर्नु भएको छ । उहाँले सरकारले संसद्लाई समेत महत्त्व नदिएको र जनतालाई ‘भुसुना’ जस्तो व्यवहार गरेको बताउनु भएको छ । ‘गरिबलाई हेप्ने, गरिबको घर भत्काउने डोजर आतङ्क मच्चाएर सबैलाई आतङ्कित र बेहाल बनाउने पार्टीलाई गरिबले आफ्नो बस्तीमा छिर्न नदिनू, हद भयो अब !’ उहाँको भनाइ छ ।

साम्पाङ सरकारका जनविरोधी गतिविधिका विरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आउनु भएको छ ।