जनता टाइम्स

२ जेष्ठ २०८३, शनिबार १०:२२

चितवन माडीमा निजी विद्यालयका शिक्षकले कुटे विद्यार्थी, शरीरभरी निलडाम


चितवन, जेठ २ । चितवनको माडी नगरपालिका ५ बसन्तपुरस्थित पिसल्याण्ड इङ्लिस स्कुलमा एक विद्याथीलाई शिक्षकले निलडाम हुने गरी निर्घात कुटपिट गरेको घटना बाहिरिएको छ ।

कक्षा ८ मा अध्ययनरत १४ बर्षीय दीपसन लम्साललाई विज्ञान विषयका शिक्षक विश्व अवतार घलेले पाइपले निलडाम हुने गरी कुटपिट गरेको घटना बाहिर आएको हो । कुटपिटबाट घाइते भएका बालकको बघौडा अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ ।

पीडित परिवारका अनुसार शुक्रबार अन्तिम पिरियड सुरु हुनुअघि दीपसन आफ्ना दुई साथीहरूसँग पिसाब फेर्न कक्षाबाहिर निस्केका थिए । उनीहरू कक्षाकोठामा फर्कंदा शिक्षक घले आइसकेको र आफू आउँदा विद्यार्थी बाहिर रहेको भनेर कुटपिट गरेको पीडित परिवारको भनाइ छ । घलेले तीनै जना विद्यार्थीलाई कुटेका पीडित परिवारले जनाएका छन ।

पीडितकी आमा पद्माकुमारी लम्सालका अनुसार छोराको शरीरमा नीलडाम र चोट देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराउँदा वेवास्ता गरिएपछि घटना सार्वजनिक गर्नुपरेको हो । परिवारले इलाका प्रहरी कार्यालय माडीमा उजुरीसमेत दर्ता गराएको छ ।

इलाका प्रहरी कार्यालय माडीका वरिष्ठ प्रहरी नायब निरीक्षक नारायण जोशीले घटनाबारे उजुरी प्राप्त भएको र दुवै पक्षलाई बोलाएर आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ ।