जनता टाइम्स

२ जेष्ठ २०८३, शनिबार १३:४२

सबै मन्त्रालय बालेनलाई सुम्पने दिन आउन सक्छ : हर्क साम्पाङ


काठमाडौं, जेठ २ । श्रम स‌स्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सबै मन्त्रीहरूले राजीनामा दिएर ती मन्त्रालय नै बालेनलाई सुम्पने अवस्था आउन सक्ने टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै साम्पाङले संघीय सरकार र संसदप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पर्सि बस्ने संसद बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिने उल्लेख गर्दै संसदलाई बेवास्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।

‘कुन दिन सबै मन्त्रीहरूले राजीनामा दिएर सबै मन्त्रालयहरू बालेनलाई नै सुम्पने समय आउनेछ,’ साम्पाङले लेख्नुभएको छ ।

उहाँले संसदको भूमिकामाथि प्रश्न उठाउँदै सरकारको कार्यशैलीप्रति आलोचना गर्नुभएको छ । ‘पर्सीको संसदमा हामी प्रधानमन्त्रीको उपस्थितिको माग गर्नेछौँ । संसदलाई बेवास्ता गर्ने, हेप्ने प्रवृत्ति बन्द गरियोस् । जसलाई जे भन्नु छ भन्न सक्छ, हाम्रो लाइन क्लियर छ,’ उहाँको भनाइ छ ।

साम्पाङले मेयर बालेन शाहको पछिल्ला व्यवहारलाई लिएर उठिरहेको बहसप्रति पनि टिप्पणी गर्नुभएको छ । उहाँले बालेनले वर्तमान व्यवस्था नै नमान्ने हो कि भन्ने प्रश्न उठाउँदै राष्ट्रपति र संसदप्रति भएको व्यवहारबारे चासो व्यक्त गर्नुभयो । ‘बालेन जीले यो व्यवस्था नै नमानेको हो कि ? राष्ट्रपतिलाई अपमान, संसदलाई अपमान ! के हो यो ?’ साम्पाङले प्रश्न गर्नुभएको छ ।