काठमाडौं, जेठ ४। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वैचारिक अस्पष्टताको कारण वाम एकता सम्भव नरहेको बताउनुभएको छ ।
मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले तत्कालीन नेकपाले जननेता मदन भण्डारीको योगदानलाई उचित सम्मान दिन नसकेको बताउनुभयो । ‘नेकपाले नेपाली राजनीतिका सर्वाधिक लोकप्रिय र युगान्तकारी व्यक्तित्व मदन भण्डारीबारे दुई शब्द पनि खर्च गरेन,’ उहाँले लेख्नुभएको छ ।
एमालेबाट छुट्टिएर नेकपामा गएका नेताहरूको ‘न्यास्रो’ पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव कुमार नेपालले पूरा गरिदिएको टिप्पणी पनि उहाँले गर्नुभएको छ । बाँस्कोटाले एमालेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादी केन्द्रको ‘जनयुद्ध’ बिच वैचारिक स्पष्टता तथा साझा निष्कर्ष ननिस्कँदा बामएकता टिक्न नसकेको दाबी गर्नुभएको हो । ‘जजको राजमार्ग र जनयुद्धको सुरुङको टुङ्गोविना वाम एकताको “ए” नै कोल्याप्स हाने,’ उहाँको टिप्पणी छ ।
उहाँले स्पष्ट दृष्टिकोण बिना भएको नेकपाको एकताको वैचारिक आधार कमजोर रहेको र त्यसैले पार्टी दीर्घकालीन रूपमा टिक्न नसकेको बताउनुभयो । अब पनि त्यो भूल गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्