काठमाडौं, जेठ ४ । इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा २ वटा सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले रिपोर्ट गरेको छ ।इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरुभूमिमा इजरायलद्वारा सञ्चालित २ वटा गोप्य सैन्य अड्डा पहिचान गरेका अमेरिकी पत्रिकालाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।
गएको हप्ता अर्को अमेरिकी पत्रिका ‘द वाल स्ट्रीट जर्नल’ ले युद्ध शुरू हुनुभन्दा केही समयअघि एउटा सैन्य अड्डा स्थापना गरिएको र अमेरिकाको जानकारीमा सञ्चालन गरिएको रिपोर्ट गरेको थियो । अखबारका अनुसार इजरायली सेनाले मार्च महिनाको शुरूमा साइट पत्ता लगाउन नजिक पुगेका इराकी एकाइहरूविरुद्ध सैन्य अड्डाबाट आक्रमण शुरू गरेको थियो ।
इराकी अधिकारीहरूले यस ठाउँमा कुनै पनि सेनाको उपस्थितिका लागि सम्झौता वा सहमति नभएको बताएका छन् । यद्यपि ‘वाल स्ट्रीट जर्नल’ को रिपोर्टले इराकले मार्च महिनाको अन्त्यतिर अमेरिकासँग निजी रूपमा विरोध दर्ता गराएको र यसलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको बताएको छ ।अमेरिकाले इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहहरूको प्रभावलाई रोक्न उसलाई बारम्बार आग्रह गरेको छ । गएको मार्च महिनामा बगदाद विमानस्थल नजिकै आफ्नो दूतावास परिसरमा आक्रमण भएपछि अमेरिकी सेनाले पपुलर मोबिलाइजेशन फोर्सेस विरुद्ध आक्रमण गरेको थियो ।यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले यसबारेमा इराकी अधिकारीहरूसँग कुरा गर्ने बताउनुभएको छ । इजरायलले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप छ ।













प्रतिक्रिया दिनुहोस्