काठमाडौं, जेठ ९ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ससम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गर्नुभएको छ ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेतृ शाक्यले ओलीको यस्तो आग्रह गर्नुभएको हो । उाँले दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्नका लागि आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको स्मरण गराउँदै उहाँले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ । ‘सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ,’ शाक्यले भन्नुभएको छ, ‘कमरेडले यही बैठकबाट स(सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ। नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ।’
अष्टलक्ष्मीको सुझाव जस्ताको तस्तै
कमरेड अध्यक्ष केपी शर्मा ओली,
तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभएको छ। यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुनः नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ। अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु।
बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईंको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड, सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।
अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी। आजको समयको माग विचार, सामूहिकता, सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ। कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ।
नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थ भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो।













प्रतिक्रिया दिनुहोस्