जनता टाइम्स

१० जेष्ठ २०८३, आईतवार ०९:५६

रजगाउँमा पुगेको आयुर्वदिक स्वास्थ्य शिविरले सीमान्तकृत बस्तीमा जगायो भरोसा


रामेछाप, जेठ १० । खाँडादेवी गाउँपालिका–४ को रजगाउँमा शनिबार बिहानै असामान्य चहलपहल थियो । सामान्य दिनमा मेलापात र दैनिकीको संघर्षमा व्यस्त रहने माझी बस्तीका बुढापाका, महिला र बालबालिका यसदिन स्वास्थ्य शिविरतर्फ हतारिँदै थिए । कसैले कम्मर समाउँदै आएका थिए, कसैले हातमा पुराना रिपोर्ट बोकेका थिए भने कतिपय ज्येष्ठ नागरिक छोराछोरीको सहारामा स्वास्थ्य जाँच गराउन पुगेका थिए ।

वर्षौँदेखि रोग बोकेर पनि उपचारको पहुँचबाट टाढा रहेका सीमान्तकृत माझी समुदायका लागि त्यो दिन केवल ‘स्वास्थ्य शिविर’ मात्र थिएन, त्यो उनीहरूको पीडा सुन्न गाउँमै पुगेको राज्यको अनुभूति थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरले रजगाउँका धेरै स्थानीयको मन छोएको छ । स्वास्थ्य संस्था पुग्न आर्थिक अभाव, दुर्गम यात्रा र चेतनाको कमीले समस्या झेलिरहेका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो ।

शिविरमा डा‍. सविता भण्डारी नेतृत्वको टोलीले सेवा दिएको थियो । डा‍. उत्तम गैरे, डा‍. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण गर्नुभयो ।

 

नसा तथा हाडजोर्नी दुखाइ, ग्यास्ट्रिक, छालासम्बन्धी रोग, श्वासप्रश्वास समस्या, महिलाजन्य रोग र ज्येष्ठ नागरिकका विभिन्न स्वास्थ्य समस्याको परीक्षण गरिएको थियो ।

तर, शिविरको सबैभन्दा ठूलो उपलब्धि औषधि वितरण मात्र थिएन । त्यो त वर्षौँदेखि मनभित्र थुप्रिएको पीडामा कसैले हात राखिदिएको अनुभूति थियो ।

एक स्थानीय वृद्धाले आँखाभरि आँसु पार्दै भन्नुभयो, ‘हामीजस्ता गरिबलाई अस्पताल जान सजिलो हुँदैन । आज गाउँमै डाक्टर आउँदा मन हलुका भयो ।’

अर्का एक स्थानीयले आफूले परिवारका सबै सदस्यलाई जाँच गराउन ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरू ठाउँमा यस्ता शिविर भएको सुन्थ्यौँ, हाम्रो गाउँमा कहिले आउला भनेर कुरेर बसेका थियौँ । आज बल्ल पालो आयो ।’

शिविरमा माझी समुदायसहित अन्य स्थानीय गरी १ सय ७५ जनाले सेवा लिएको चिकित्सालयले जनाएको छ ।

स्थानीयका अनुसार गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार गराउन सहज मात्रै भएन, स्वास्थ्यप्रति विश्वास पनि बढेको छ । उनीहरूले यस्ता कार्यक्रम नियमित सञ्चालन गरिदिन आग्रह गरेका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले स्थानीय तहसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ । रजगाउँको शिविर खाँडादेवी गाउँपालिका–४ को समन्वयमा सम्पन्न भएको हो ।

दूरदराजका बस्तीमा राज्यको उपस्थिति अझै कमजोर महसुस भइरहेका बेला रजगाउँमा पुगेको यो स्वास्थ्य शिविरले भने एउटा सन्देश दिएको छ—सेवा जब जनताको ढोकासम्म पुग्छ, तब उपचारसँगै आशा पनि बाँडिन्छ ।