काठमाडौं, जेठ ११ । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलको राजीनामा मागिएको भन्दै नियाेजित हल्ला फैलाइएकाे बताउनुभएकाे छ ।
एमाले सचिवालय बैठकपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले केही सञ्चारमाध्यमले ‘केपी ओली अल्पमतमा’ परेको भन्दै नियोजित रूपमा भ्रम फैलाएको बताउनुभएकाे हाे । उहाँले सचिवालय बैठकले पार्टीलाई अझ संगठित, एकताबद्ध र सशक्त बनाएर अघि बढ्ने निर्णय गरेपछि ती समाचार झुटो साबित भएको दाबी गर्नुभयो ।
थापाले लेख्नुभएको छ, ‘केपी ओली अल्पमतमा भन्दै शतप्रतिशत झुटो हल्ला गरेका पत्रकार, पत्रपत्रिका, अनलाइनहरूले एमालेको निर्णयसँगै ‘झण्डै हटाएको’ लेखेर त लाज छोप्ने होलान्, विचरा ?’
पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तन, अध्यक्ष ओलीमाथि दबाब र आन्तरिक असन्तुष्टिबारे विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चा भइरहेका बेला सचिवालय बैठकले पार्टीभित्र कुनै प्रकारको संकट नरहेको सन्देश दिएको नेताहरूको भनाइ छ ।
बैठकले पार्टी संगठनलाई थप सुदृढ बनाउने, सरकारको कामलाई प्रभावकारी बनाउने तथा आगामी राजनीतिक एजेन्डामा एकताबद्ध रूपमा अघि बढ्ने निर्णय गरेको एमालेले जनाएको छ ।
यससँगै अध्यक्ष ओलीको नेतृत्व कमजोर बनेको वा उहाँमाथि राजीनामाको दबाब बढेको भन्ने चर्चा एमाले नेताहरूले अस्वीकार गरेका छन् । नेता थापाको पछिल्लो प्रतिक्रिया पनि त्यही सन्देशलाई सार्वजनिक रूपमा स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ ।













प्रतिक्रिया दिनुहोस्