रामेछाप, जेठ १२ । रामेछापको खाँडादेवी गाउँपालिका–४ रजगाउँमा रहेको भीमसेन मन्दिर धार्मिक आस्था, किंवदन्ती र ऐतिहासिक रहस्यको केन्द्र बनेको छ । स्थानीयवासीले मन्दिरमा रहेको गदालाई महाभारत युद्धकालीन भीमसेनको गदाको अवशेष मान्ने गरेका छन् ।

रजगाउँस्थित भीमसेन मन्दिरमा रहेका दुई वटा गदामध्ये एउटा सानो गदाकाे टुक्रा मन्दिरभित्र त्रिशूलसँगै गाडिएको अवस्थामा छ भने अर्को ठूलो गदा भाँचिएको टुक्रासहित मन्दिरको कुनामा ठड्याइएको छ । दर्शन गर्न आउने भक्तजनले उक्त गदा बोकेर मन्दिरको तीन फन्को लगाउने परम्परा अझै कायम छ ।

स्थानीय जनविश्वासअनुसार दम तथा पेटसम्बन्धी रोग भएका व्यक्तिले सास नफेरी गदा बाेकेर तीन पटक मन्दिर परिक्रमा गर्दा रोग निको हुने विश्वास गरिन्छ । यही आस्थाका कारण टाढाटाढाबाट समेत मानिसहरू मन्दिरमा पुग्ने गरेका छन् ।

स्थानीय बुढापाकाका अनुसार मन्दिरमा पहिले अझ ठूलो गदा पनि रहेको थियो । तर २०४१ सालतिर मानसिक सन्तुलन गुमाएका एक व्यक्तिले उक्त गदालाई तामाकोसी नदीमा फालिदिएको बताइन्छ । त्यसयता मन्दिरमा रहेका बाँकी गदाको संरक्षणको विषयमा स्थानीयवासीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

किंवदन्तीअनुसार माझी बस्तीको सिरानमा रहेको रजगाउँमा कुनै समय राजा बसोबास गर्थे । गाउँमा भेटिने पुराना इँटा तथा पानी ल्याउन बनाइएको कुलोलाई अत्यन्त प्राचीन मानिन्छ । अनुसन्धानबाट त्यहाँका इँटा लिच्छविकालीन रहेको पुष्टि भइसकेको स्थानीयको दाबी छ ।

रजगाउँको वारीपट्टि पर्ने मन्थली नगरपालिका–६ मा रहेको ‘हातिटार’ गाउँको नामसमेत ऐतिहासिक प्रसंगसँग जोडिएको छ । राजा पारी बस्ने र वारीपट्टि राजाका हात्ती बाँध्ने गरिएकाले उक्त स्थानको नाम हातिटार रहन गएको जनश्रुति छ ।

स्थानीय कथनअनुसार रजगाउँ क्षेत्रमा गोल्मा राजाहरूले शासन गरेका थिए । तर यस क्षेत्रको पुरातात्त्विक तथा ऐतिहासिक महत्वबारे विस्तृत अध्ययन र अनुसन्धान भने अझै हुन सकेको छैन ।

ऐतिहासिक र धार्मिक महत्व बोकेको भीमसेन मन्दिर तथा गदाको उचित संरक्षण हुन नसक्दा बाँकी रहेका अवशेषसमेत हराउने खतरा बढ्दै गएको भन्दै स्थानीयवासीले संरक्षणमा राज्यको ध्यान जानुपर्ने माग गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्