काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा ठूलो फड्को मार्ने घोषणा गर्नुभएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले स्वास्थ्य सेवा विस्तार, औषधि उत्पादन, स्वास्थ्य बीमा तथा खानेपानी पहुँचलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले कम्तीमा २५ प्रकारका औषधि नेपाल औसधि लिमिटेडबाट उत्पादन गरिने जानकारी दिनुभयो । स्वदेशमै औषधि उत्पादन बढाएर आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो ।
उहाँले सातवटै प्रदेशका प्रदेश अस्पताललाई क्रमशः शिक्षण अस्पतालका रूपमा विकास गरिने घोषणा पनि गर्नुभयो । यसबाट विशेषज्ञ स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच प्रदेशस्तरमै विस्तार हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, आगामी तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने लक्ष्य सरकारले लिएको उहाँले बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले पाँच वर्षभित्र शतप्रतिशत नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । खानेपानी तथा सरसफाइलाई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयका रूपमा सरकारले प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो ।
सरकारले बजेटमार्फत आधारभूत स्वास्थ्य सेवा, औषधि उत्पादन, स्वास्थ्य पूर्वाधार र सुरक्षित खानेपानीलाई सामाजिक विकासको मुख्य आधारका रूपमा अघि बढाएको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्