जनता टाइम्स

१५ जेष्ठ २०८३, शुक्रबार १७:०७

सामाजिक सुरक्षा भत्तामा निरुत्साहित गर्ने सरकारको नीति


काठमाडौं, जेठ १५ गते । अर्थ मन्त्री डा स्वर्णिम वाग्लेले सरकारले सामाजिक सुरक्षा भत्तालाई आवश्यकतामा आधारित र लक्षित बनाउने नीति अघि सारेको बताउनुभएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सामाजिक सुरक्षा भत्तामा अनावश्यक निर्भरता घटाउने उद्देश्यसहित नयाँ अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रोत्साहित गर्ने अभियान सञ्चालन गरिने बताउनुभयो । राज्यको सीमित स्रोत वास्तविक रूपमा आवश्यक पर्ने वर्गसम्म केन्द्रित गर्न यस्तो नीति ल्याइएको उहाँको भनाइ थियो । उहाँले सामाजिक सुरक्षा भत्ता सक्नेले त्यागाैँ भन्ने अभियान सञ्चालन गरिने बताउनुभयाे ।

उहाँले दलित समुदायका बालबालिकालाई उपलब्ध गराइँदै आएको पोषण भत्ता भने दोब्बर बनाइ मासिक एक हजार रुपैयाँ पुर्‍याइने घोषणा गर्नुभयो ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई राहतमुखीभन्दा बढी लक्षित, व्यवस्थित र दीगो बनाउने नीति बजेटमार्फत अघि सारेको जनाएको छ ।