मुस्ताङ, जेठ १८ । केही वर्षअघिसम्म मुस्ताङ यात्रा साहसिक गन्तव्यका रूपमा चिनिन्थ्यो। लामो र कठिन यात्राका कारण धेरैका लागि यो सपना जस्तै थियो। तर अहिले अवस्था फेरिएको छ। सडक पहुँच सहज भएसँगै मुस्ताङ यतिबेला धार्मिक तीर्थयात्रीदेखि प्रकृतिप्रेमी पर्यटकसम्मको साझा गन्तव्य बनेको छ।
पछिल्ला केही सातादेखि पोखराबाट मुस्ताङ जाने सडकमा यात्रु बोकेका सवारीसाधनको संख्या उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा दैनिकजसो पर्यटक तथा दर्शनार्थीको चहलपहल देख्न सकिन्छ।
धेरैका लागि यो यात्रा केवल घुमफिर होइन, आस्था र अनुभूतिको यात्रा पनि हो। मुक्तिनाथ पुग्ने यात्रुहरू बिहानैदेखि मन्दिर परिसरमा देखिन्छन्। कोही १०८ धाराको चिसो पानीमा स्नान गरिरहेका हुन्छन् भने कोही पवित्र कुण्डमा डुबुल्की मारेर भगवान मुक्तिनाथको दर्शनका लागि लाइनमा उभिएका भेटिन्छन्।
हिन्दु धर्मावलम्बीका लागि मुक्तिनाथ मोक्ष प्राप्तिको स्थलका रूपमा परिचित छ। बौद्ध धर्मावलम्बीहरूले पनि यसलाई उत्तिकै श्रद्धाका साथ हेर्ने गर्छन्। यही धार्मिक महत्वले नेपाल मात्र होइन, भारतलगायत विभिन्न देशबाट समेत श्रद्धालुहरूलाई मुस्ताङसम्म तान्ने गरेको छ।

मुक्तिनाथ जाने अधिकांश यात्रु कागबेनीमा पनि पुग्ने गर्छन्। कालिगण्डकी नदीको किनारमा रहेको यो ऐतिहासिक बस्ती धार्मिक महत्वका कारण प्रसिद्ध छ। कागबेनीलाई सबैभन्दा पुरानो हिमाली बस्ती पनि मानिन्छ । कागबेनीमा श्राद्ध तथा पितृकार्य गर्दा दिवंगत पितृले मुक्ति प्राप्त गर्ने विश्वास रहिआएको छ। त्यसैले वर्षभरि नै यहाँ श्रद्धालुहरूको आवतजावत भइरहन्छ।

मुस्ताङको आकर्षण केवल धार्मिक पक्षमा सीमित छैन। यहाँको प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। हिमालको फेदीमा फैलिएका पहाड, मरुभूमिजस्तो देखिने भू–दृश्य, कालिगण्डकीको बहाव, सफा आकाश र हिमाली संस्कृतिको अनुपम मिश्रणले मुस्ताङलाई देशकै फरक गन्तव्य बनाएको छ।

विशेषगरी युवा पुस्ता सामाजिक सञ्जालमा देखिएका मुस्ताङका दृश्य प्रत्यक्ष अनुभव गर्न पुग्ने गरेका छन्। वृद्धवृद्धा धार्मिक आस्थाका कारण मुक्तिनाथ जाने गर्छन् भने परिवारसहित घुम्न जानेहरू प्राकृतिक सौन्दर्य र हिमाली संस्कृतिको आनन्द लिन पुगिरहेका छन्। यही कारण अहिले मुस्ताङमा सबै उमेर समूहका पर्यटक देख्न सकिन्छ।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस वर्ष पर्यटक आगमन उत्साहजनक छ। होटल तथा रेस्टुरेन्टमा चहलपहल बढेको छ भने यातायात व्यवसाय पनि चलायमान बनेको छ। विदेशी पर्यटकको आगमनसमेत क्रमशः बढ्दै गएको उनीहरू बताउँछन्।

धार्मिक विश्वास, ऐतिहासिक महत्व र प्रकृतिको अनुपम उपहारलाई एउटै यात्रामा अनुभव गर्न सकिने भएकाले मुस्ताङ अहिले नेपालको सबैभन्दा आकर्षक पर्यटन गन्तव्यमध्ये एक बनेको छ। मुक्तिनाथको आध्यात्मिक शान्ति र कागबेनीको धार्मिक महिमासँगै मुस्ताङको प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जो–कसैलाई फेरि फर्केर आउन प्रेरित गरिरहेको छ।













प्रतिक्रिया दिनुहोस्