काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि काठमाडौंमा सञ्चालन गर्दैछ।
एमाले केन्द्रीय संगठन विभागको आयोजनामा बबरमहलस्थित कार्की बैंक्वेटमा हुने कार्यशाला बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो।
पार्टी संगठनलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने लक्ष्यका साथ आयोजना गरिएको कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला इन्चार्ज, भारत प्रवासका इन्चार्ज, प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहने जनाइएको छ।
एमालेले पछिल्लो समय संगठन विस्तार र सदस्यता व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा आयोजित यस कार्यशालालाई संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। कार्यशालामार्फत पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रियालाई व्यवस्थित बनाउने, संगठनात्मक सक्रियता बढाउने तथा आगामी रणनीतिहरू तय गर्ने विषयमा व्यापक छलफल हुने बताइएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा पार्टी संगठनको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा केन्द्रीय संगठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ। त्यसैगरी सदस्यता नवीकरण प्रक्रियाका प्राविधिक तथा व्यवस्थापकीय पक्षबारे केन्द्रीय सदस्य तथा संगठन विभागका सदस्य माधव ढुंगेलले अर्को कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
कार्यशालाका सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी सदस्यता विस्तार, संगठन निर्माण, कार्यशैली सुधार तथा भावी योजनासम्बन्धी विषयमा समूहगत छलफल गराइने र त्यसका निष्कर्ष प्रस्तुत गरिने कार्यसूची तय गरिएको आचार्यले बताउनुभयो।
एमाले नेतृत्वले संगठनलाई आधारभूत तहसम्म थप मजबुत बनाउने, सदस्यता व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाउने तथा पार्टीका गतिविधिलाई जनस्तरसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यका साथ कार्यशाला आयोजना गरेको जनाएको छ।
कार्यशालाको समापन भोलि एमाले महासचिव शंकर पोखरेलले गर्नुहुने कार्यक्रम रहेको छ। पार्टीले कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी संगठनात्मक अभियान तथा सदस्यता विस्तार कार्यक्रमको आधारका रूपमा उपयोग गर्ने अपेक्षा गरेको छ।













प्रतिक्रिया दिनुहोस्