जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार १२:४९

भदौ २३-२४ को घटना पूर्वनियोजित प्रायोजित षडयन्त्र थियो : केपी ओली


काठमाडौं, जेठ २० । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो निर्वाचनको परिणामपछि देश, लोकतान्त्रिक शक्तिहरू र राष्ट्रिय अस्मितामाथि नै गम्भीर धक्का पुगेको दाबी गर्दै त्यसबाट उत्पन्न अन्योल, अस्पष्टता र भ्रमलाई चिर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभएको छ।

काठमाडौंमा मंगलबारदेखि सुरु भएको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कार्यशालाले पार्टी पङ्क्तिलाई नयाँ आत्मविश्वास, उत्साह र स्पष्ट राजनीतिक दृष्टिकोणका साथ कार्यक्षेत्रमा फर्काउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले निर्वाचनको अप्रत्याशित परिणामपछि लोकतान्त्रिक शक्तिहरू, विकास निर्माण र सुशासनका अभियानले समेत प्रतिकूल असर भोग्नुपरेको बताउनुभयो।

‘निर्वाचनको परिणामपछि हाम्रो पार्टीले धक्का खाएको छ, लोकतान्त्रिक शक्तिहरूले धक्का खाएका छन् र राष्ट्रिय अस्मितामाथि नै गम्भीर धक्का लागेको जटिल परिस्थिति छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यो भेलाले देशमा देखिएका अन्योल, अस्पष्टता र भ्रमलाई चिर्नेछ र नयाँ विश्वास, जोस तथा जाँगरका साथ कार्यकर्तालाई जनतामाझ पठाउनेछ।’

उहाँले पछिल्लो राजनीतिक घटनाक्रमको समग्र समीक्षा गर्दै पार्टीलाई अझ सुदृढ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएका घटनालाई पूर्वनियोजित र प्रायोजित षड्यन्त्रको संज्ञा दिनुभयो। उहाँले ती घटनाको उद्देश्य अत्यधिक बहुमत प्राप्त लोकतान्त्रिक सरकारलाई विस्थापित गर्नु रहेको दाबी गर्नुभयो।

‘भदौ २३ र २४ को घटना पूर्वनियोजित प्रायोजित षडयन्त्र थियो, नवयुवाहरूको सुनियोजित हत्या गर्ने प्रपञ्च थियो, यो मेरो भनाइ होइन राष्ट्रिय मानव अधिकार आयोगको सार संक्षेप हो’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार उक्त घटनाका क्रममा हिंसा र अराजकता फैलाउने उद्देश्यका साथ विभिन्न तयारीहरू गरिएको थियो। प्रज्वलनशील पदार्थको प्रयोग, देशव्यापी आगजनी गराउने योजना तथा विभिन्न नेताहरूका घरहरूको खोजी र पहिचान गर्ने गतिविधिहरू त्यसैको हिस्सा रहेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले आफ्नो भनाइलाई राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्षसँग जोड्दै ती घटनामा नवयुवाहरूलाई योजनाबद्ध रूपमा प्रयोग गरिएको दाबी गर्नुभयो।

उहाँले भदौ २३–२४ का घटनाहरू तत्कालीन परिस्थितिको मात्र उपज नभएको जिकिर गर्दै लोकप्रिय राजनीतिक नेतृत्वविरुद्ध चरित्रहत्या, आक्रमण र भ्रम फैलाउने गतिविधि लामो समयदेखि चलिरहेको बताउनुभयो। ‘लोकप्रिय नेताहरूलाई कसरी बदनाम गर्ने, कसरी आक्रमण गर्ने भन्ने योजनाबद्ध प्रयासहरू पहिलेदेखि नै भइरहेका थिए,’ उहाँले भन्नुभयो, ‘त्यो शृङ्खला अहिले पनि रोकिएको छैन, बरु अझ संगठित र योजनाबद्ध रूपमा अगाडि बढाइएको छ।’

अध्यक्ष ओलीले राज्य शक्तिको दुरुपयोग गरेर विभिन्न व्यक्तिमाथि दबाब सिर्जना गर्ने र राजनीतिक उद्देश्यका लागि घटनाहरूलाई प्रयोग गर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीले कार्यशालालाई सदस्यता नवीकरण र विस्तारको नियमित कार्यक्रम मात्र नभई संगठन पुनर्जागरणको अभियानका रूपमा लिन आग्रह गर्नुभयो। पार्टीभित्र वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा कार्यशालाले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो।

देशभरका प्रदेश तथा जिल्ला तहका जिम्मेवार नेता, जनसंगठनका प्रतिनिधि र संगठन विभागका पदाधिकारीहरूको सहभागिता रहेको कार्यशालाले सदस्यता व्यवस्थापन, संगठन विस्तार र आगामी राजनीतिक कार्ययोजनाबारे साझा निष्कर्ष निकाल्ने बत्ताइएको छ।