जनता टाइम्स

२२ जेष्ठ २०८३, शुक्रबार १२:५६

बालेनको अभिव्यक्तिमा राजेश हमालको आक्रोश : निर्णय क्षमताको अभाव र दूरदृष्टि नहुँदाको दुश्परिणाम


काठमाडौं, जेठ २२ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिनेता राजेश हमालले भारतसँग नेपालको सीमा विवाद र प्रधानमसंसदको अभिब्यक्तिलाई लिएर अभिनेता राजेश हमालले निकै कठोर टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गर्दै हमालले पदीय मर्यादा, निर्णय क्षमताको अभाव र दूरदृष्टि नहुँदाको दुश्परिणाम भन्नुभएको छ । हमालले राष्ट्रिय नेतृत्वमा दूरदृष्टिको अभाव हुँदा संकट निम्तिने चेतावनी पनि दिनुभएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई सिधैँ ईंगित नगरिकन हमालले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । हमालले राज्य प्रायोजित भू अतिक्रमण र सीमापार अतिक्रमणको फरक बुझ्नुपर्ने बताउनु भएको छ । यी दुई विषयलाई प्रायः एउटै अर्थमा बुझिए पनि यिनको प्रकृति र समाधानको बाटो पूर्णतः फरक हुने

हमालका अनुसार ‘सीमापार अतिक्रमण’ प्रायः स्थानीय नागरिक र भौगोलिक परिस्थितिसँग सम्बन्धित हुन्छ । नेपाल र भारतबीचको खुला सीमा, नदीहरूले धार परिवर्तन गर्नु, सीमा स्तम्भहरू हराउनु र बस्ती विस्तार हुनु जस्ता कारणले यस्तो समस्या देखिने पनि हमालले उल्लेख गर्नुभएको छ । यस्ता समस्यालाई रणनीतिक विस्तारभन्दा पनि प्रशासनिक र स्थानीय प्रकृतिको समस्याका रूपमा बुझ्नुपर्ने र यसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुने उहाँको ठम्याइ छ ।

तर, ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ लाई हमालले निकै गम्भीर र रणनीतिक विषयका रूपमा व्याख्या गर्नुभएको छ । ‘यो त्यतिबेला हुन्छ जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुन्छ,’ हमालले फेसबुकमा लेख्नुभएको छ । यस प्रक्रियामा राज्यका संस्थाहरू संलग्न हुने, सडक निर्माण गरिने, सुरक्षा निकाय परिचालन गरिने र सरकारी नक्साहरू नै संशोधन गरेर औपचारिक रूपमा अधिकार लागू गरिने उहाँको भनाई छ । यसको सबैभन्दा प्रमुख उदाहरणका रूपमा कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई हमालले प्रस्तुत गर्नुभएको छ ।

हमालले वर्तमान विश्व राजनीति र नेपालको नेतृत्वको कार्यक्षमतामाथि पनि प्रश्न उठाउनु भएको छ । आजको ‘डामाडोल र अनिश्चित’ विश्व राजनीतिक परिवेशमा देश हाँक्ने व्यक्तिमा विशेष गुणहरू हुनुपर्ने उहाँको सुझाव छ । ‘कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ,’ हमालले भन्नुभएको छ ।

हमालको बिचार जस्ताको तस्तै

`नेपालको सीमा सम्बन्धी बहसहरूमा दुई शब्द सुनिन्छन्-सीमापार अतिक्रमण (Cross-Border Occupation) र राज्य-प्रायोजित भू-अतिक्रमण (State-Sponsored Territorial Encroachment)। यी दुईलाई एउटै अर्थमा बुझिन्छ, तर वास्तवमा यी पूर्णतः फरक प्रकृतिका विषय हुन्।

सीमापार अतिक्रमण प्रायः सरकारभन्दा बढी स्थानीय नागरिकसँग सम्बन्धित हुन्छ। नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएका छन्। नदीहरूले धार परिवर्तन गर्छन्, सीमा स्तम्भहरू हराउँछन् वा क्षतिग्रस्त हुन्छन्, बस्तीहरू विस्तार हुन्छ । यी घटनाहरू प्रायः नीतिगत होइनन्, भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम हुन्। यिनीहरू रणनीतिक विस्तारका प्रयासभन्दा बढी प्रशासनिक र स्थानीय प्रकृतिका समस्या हुन्, जसको समाधान संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट सम्भव हुन्छ। तर राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति पूर्णतः फरक हुन्छ।

यो त्यतिबेला हुन्छ जब कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुन्छ। यहाँ व्यक्तिहरू होइन, राज्यका संस्थाहरू संलग्न हुन्छन्। सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ। यसको सबैभन्दा प्रमुख उदाहरण कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्र हो। आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।´