जनता टाइम्स

२९ जेष्ठ २०८३, शुक्रबार १०:१०

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हर्क साम्पाङको काउन्टर : अनियमितता नभएको भए संसदीय छानबिन समिति बनाउँ


काठमाडौं, जेठ २९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै संसदीय छानबिन समिति गठन गर्न चुनौती दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले अर्थमन्त्री वाग्लेले संसद्मा दिएको अभिव्यक्तिमाथि प्रश्न उठाउनुभएको हो। ‘अर्थमन्त्रीज्यू… दुई रुपैयाँ या दुई अर्ब, त्यो आरोप हुन सक्छ तर संसदीय छानबिन समितिद्वारा छानबिन गरौँ न त भन्ने कुरा किन नमानेको ?’ साम्पाङले लेख्नुभएको छ।

यसअघि प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री वाग्लेले आफूविरुद्ध उठाइएका अनियमितताका आरोपलाई अस्वीकार गर्दै ‘दुई अर्ब होइन, दुई रुपैयाँ पनि बदमासी मबाट भएको छ भने म मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार छु’ भन्नुभएको थियो। उहाँले आफूमाथि लगाइएका आरोपको तथ्यका आधारमा मूल्याङ्कन गर्न आग्रह गर्नुभएको थियो। उहाँले करकाे दायरा हेरफेर गरेकाेमा प्रशन उठाउने सांसदहरुलाई तपाईँहरुकाे काण्ड पनि थाहा छ भन्दै धम्की दिनुभएकाे थियाे ।

अर्थमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले संसदीय छानबिन समितिको माग गर्दै आएका छन्। यही सन्दर्भमा साम्पाङले पनि निष्पक्ष छानबिनका लागि संसदीय संयन्त्र प्रयोग गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको हो ।