जनता टाइम्स

२९ जेष्ठ २०८३, शुक्रबार १८:२९

वाग्मती प्रदेशका ११ जिल्लाका रेडक्रस शाखालाई स्वास्थ्य मन्त्रालयद्वारा ब्लड बैँक रेफ्रिजेरेटर 


काठमाडौं, जेठ २९ । वाग्मती प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर रक्तसञ्चार सेवाको गुणस्तर सुधार र सुरक्षित रगत भण्डारण क्षमतामा वृद्धि गर्ने उद्देश्यले ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखालाई ब्लड बैँक रेफ्रिजेरेटर उपलब्ध गराएको छ।

स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडामार्फत वितरण गरिएको उपकरणले जिल्लास्तरमा रक्तसञ्चार सेवाको पहुँच र प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडामा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा ११ वटा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गर्नुभयो।सिन्धुपाल्चोक र रसुवाबाहेक प्रदेशका ११ जिल्लामा उपकरण वितरण गरिएको हो।

प्रदेश सरकारले उपकरण खरिदका लागि सार्वजनिक बोलपत्र आह्वान गरेको थियो। ती उपकरण प्रतियुनिट २ लाख ७५ हजार ५ सय ५५ रुपैयाँका दरले कुल ३१ लाख रुपैयाँमा खरिद सम्झौता गरिएको स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ। आर्थिक वर्ष ०८२/८३ मा निःशुल्क रक्तसञ्चार सेवा कार्यक्रमअन्तर्गत ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

हस्तान्तरण गरिएका रेफ्रिजेरेटरहरू २ सय २० लिटर क्षमताका छन्। एउटा रेफ्रिजेरेटरमा करिब १ सय ५० वटा ब्लड ब्याग सुरक्षित रूपमा भण्डारण गर्न सकिने प्राविधिक जानकारी दिइएको छ। उपकरणमा थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट प्रणाली, तापक्रम निगरानी प्रणाली तथा डाटा लगरजस्ता आधुनिक प्रविधि जडान गरिएको छ।

प्रदेश सरकारका अनुसार यी उपकरणले रगतको गुणस्तर कायम राख्न, तापक्रम नियन्त्रण गर्न तथा आकस्मिक अवस्थाका लागि आवश्यक रक्त भण्डारण व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडक्रसलाई उपलब्ध गराइएको रेफ्रिजेरेटर सहयोग मानव सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले द्वन्द्वकालदेखि प्राकृतिक विपदसम्म नेपाल रेडक्रसले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै रक्तसञ्चार सेवाको प्रभावकारिता अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै स्वास्थ्यमन्त्री किरण थापाले सुरक्षित रगत भण्डारण तथा रक्तसञ्चार सेवाको दिगोपन सुनिश्चित गर्न प्रदेश सरकारले रेफ्रिजेरेटर उपलब्ध गराएको बताउनुभयो। उहाँले ब्लड बैंकहरूले लिने सेवा शुल्क प्रदेश सरकारले व्यहोर्दै आएकाले नागरिकले निःशुल्क रूपमा रगत प्राप्त गर्ने वातावरण बनेको उल्लेख गर्नुभयो।

प्रदेश सरकारको यो पहलले जिल्लास्तरका ब्लड बैंकहरूको भण्डारण क्षमता विस्तार हुनुका साथै आपतकालीन उपचार सेवामा प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।