जनता टाइम्स

२९ जेष्ठ २०८३, शुक्रबार २१:१६

अकस्मात समस्या आएकाे फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा


काठमाडौं, जेठ २९ । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा देखिएको प्राविधिक समस्या अधिकांश प्रयोगकर्ताका लागि समाधान भएको छ।

केही घण्टाअघि विश्वका विभिन्न देशसहित नेपालमा पनि यी प्लेटफर्म प्रयोग गर्न समस्या देखिएको थियो। समस्या समाधान भएसँगै अधिकांश प्रयोगकर्ताले फेसबुक, मेसेन्जर र इन्स्टाग्राम सामान्य रूपमा प्रयोग गर्न थालेका छन्।

यद्यपि, केही प्रयोगकर्ताले अझै पनि आफ्नो खातामा लगइन गर्न समस्या भइरहेको भन्दै एक्स (ट्विटर) र रेडिटलगायत अन्य सामाजिक सञ्जालमार्फत गुनासो गरिरहेका छन्।

यसअघि फेसबुक एप नखुल्ने, मेसेन्जर स्वतः लगआउट हुने तथा इन्स्टाग्राम चलाउन कठिनाइ भएको भन्दै हजारौँ प्रयोगकर्ताले सेवा अवरुद्ध भएको जानकारी दिएका थिए। सेवा निगरानी गर्ने वेबसाइटहरूमा पनि मेटाका सामाजिक सञ्जाल सेवामा व्यापक समस्या देखिएको उल्लेख गरिएको थियो।

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले समस्याको वास्तविक कारणबारे विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। केही प्रयोगकर्तामा अझै लगइनसम्बन्धी समस्या कायम रहेकाले सेवा पूर्ण रूपमा स्थिर हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

नेपालका प्रयोगकर्ताले पनि सेवा पुनः सञ्चालनमा आएपछि फेसबुक, मेसेन्जर र इन्स्टाग्राम नियमित रूपमा प्रयोग गर्न थालेका छन्। यद्यपि, समस्या दोहोरिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कम्पनीबाट आधिकारिक जानकारीको प्रतीक्षा भइरहेको छ।