जनता टाइम्स

३० जेष्ठ २०८३, शनिबार १६:२१

रामेछापको मन्थली नगरपालिका बन्याे पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको नगरपालिका 


रामेछाप, जेठ ३० । रामेछापको मन्थली नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको नगरपालिका घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिले शनिबार आयोजित एक कार्यक्रमका बीच मन्थली नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणासम्बन्धी प्रमाणपत्र प्रदान गरेको हो।

मन्थली नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका तर्फबाट जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलाई पूर्णखोप सुनिश्चितता नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

नगरपालिकाभित्रका ताेकिएका उमेर समूहका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत प्राप्त गर्नुपर्ने सबै खोप पाएको सुनिश्चित भएपछि मन्थली नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको नगरपालिका घोषणा गरिएको हो।

कार्यक्रममा सहभागीहरूले पूर्णखोप घोषणा पश्चात् पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन नियमित अनुगमन र खोप सेवाको निरन्तरतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। पूर्णखोपको अवस्थालाई दीगो बनाउँदै आगामी दिनमा पनि सबै बालबालिकालाई समयमै खोपको पहुँचमा पुर्‍याउन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा कार्यक्रममा मन्थली नगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई खोप अभियानमा पुर्‍याएको योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पूर्णखोप अभियानलाई बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण जनस्वास्थ्य कार्यक्रमका रूपमा लिँदै यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।